वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घले वैज्ञानिक वन कार्यविधि कायम गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज नयाँबानेश्वरस्थित सम्पर्क कार्यालयमा पुगी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई भेट गरी वन कार्यविधि तत्काल बहाली गराउन लागि सहजीकरण गर्न ध्यानाकर्षण गराएको होे ।
सोही अवसरमा उपसभापति निधिले वैज्ञानिक वनकार्यविधि बहाली गराउन आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष रेनु सेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हचुवाका भरमा निजी स्वार्थका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरेको जानकारी दिनुभयो ।
तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा वैज्ञानिक वनकार्यविधि २०७१ जारी गरिएको तर ओली नेतृत्वको सरकारले सामुदायिक वन उपभोक्ता महासङ्घको दबाबमा २०७७ जेठ १५ मा कार्यविधि खारेज गरेको थियो । प्रतिनिधिमण्डमा महासङ्घका जयप्रकाश पाण्डे, डिल्लीराज रेग्मी, पदमलाल अधिकारी, हरिकला थारु र गौरीशङ्कर तिमला रहेका थिए ।
यसअघि नेपाल संस्थागत विद्यालय शिक्षक सङ्घ (निष्ठा) का अध्यक्ष भोला चालिसेको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले संस्थागत विद्यालय शिक्षक सङ्घका समस्यासहित संस्थागत मान्यताका लागि उपसभापति निधिको ध्यानाकर्षण गराएको थियो । रासस