
कञ्चनपुर : प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ ।
सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन् । “गुँड बढी देखिनुलाई सकारात्मकरूपमा लिन सकिन्छ”, नेपाल पक्षी संरक्षण सङ्घका संरक्षणकर्मी हिरुलाल चौधरीले भन्नुभयो, “नाटकीयरूपमा ९० प्रतिशत बढीले दुई दशकअघि कमी आएको गिद्धको सङ्ख्यामा वृद्धि हुन थालेपछि निकै उत्साहित भएका छौँ ।” पाँचदेखि १० को सङ्ख्यामा रहेका गिद्धको सङ्ख्या बढेर हाल २०० बढीको हाराहारी पुगेका छन् । चौपायाको दुखाई कम गर्न प्रयोग गरिने डाइक्लोफेनेक औषधिको प्रयोगमा लागेको प्रतिबन्धले गिद्धको सङ्ख्यामा बढोत्तरी भएको बताइएको छ ।
डाइक्लोफेनेक औषधिको प्रयोगपश्चात मरेका चौपायाको मासु गिद्धले खाँदा गिद्ध हृदयघात भई मर्ने गरेका थिए । नेपालसहित बङ्गलादेश, भारत र पाकिस्तानमा गरिएको अध्ययनअनुसार गिद्धको सङ्ख्यामा ह्रास आउनाको मुख्य कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पुष्टि भएपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । “गिद्धलाई डाइक्लोफेनेक औषधि प्रयोग गरिएको आहारबाट रोक्नु निकै चुनौती थियो”, संरक्षणकर्मी उहाँले भन्नुभयो, “डाइक्लोफेनेक औषधिको प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउनका लागि निकै प्रयास भए, त्यसको परिणमस्वरुप औषधिमा प्रतिबन्ध लागेपछि गिद्ध संरक्षणमा टेवा पुगेको छ ।” डाइक्लोफेनेक औषधिको विकल्पका रूपमा हाल गिद्धलाई असर नपुग्ने अरु औषधिको प्रयोग हुन थालेको छ ।
गिद्धको बासस्थानमा सुधारसँगै वातावरणमा पार्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे जनचेतना फैलाउने कार्य र गिद्धले गुँड बनाउने रुखहरुको संरक्षणमा जोड दिइएपछि गिद्धलाई पुरानै अवस्थामा फर्काउने कार्य सन्तोषजनकरूपमा अगाडि बढदै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदान, झिलमिला, तारापुर, भतपुरी फाँटा, बर्निखेडा, लालपानी क्षेत्रमा गिद्धको बासस्थान रहेको छ । निकुञ्जसँगै त्यसको मध्यवर्ती क्षेत्रका रूपमा रहेका दोधारा चाँदनी, बन्साहा र लालझाडी क्षेत्रमा समेत गिद्धले गुँड लगाउने गरेको छ ।
निकुञ्जका सूचना अधिकारी रविन चौधरीका अनुसार नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये यहाँ सात प्रजातिका गिद्ध पाइने गरेका छन् । जसमा डङ्गर, हिमाली, सानो खैरो, सुन, खैरो, राज र गोब्रे गिद्धका प्रजाति पाइने गरेका छन् । “सबैभन्दा बढी डङ्गर गिद्धको सङ्ख्या देखापरेको छ”, उहाँले भन्नुभयो, “त्यसपछि सुनगिद्ध र सानो खैरो गिद्धको सङ्ख्या देखिएको छ, अन्यको सङ्ख्या धेरै कम छ, लामो ठुडे र खैरो गिद्ध जाडो मौसममा मात्रै देखापर्ने गरेको छ, ती दुई प्रजातिका गिद्ध बाह्य क्षेत्रबाट ‘माइग्रेट’ भएर यहाँ आइपुग्ने गरेका छन् ।” निकुञ्जमा पाइने गिद्धका प्रजातिमध्ये चार प्रजातिलाई निकै दुर्लभ मानिएको छ ।
गिद्धको प्रजननदर बढ्दै गएकाले त्यसलाई सकारात्मकरूपमा लिन सकिने चौधरीले बताउनुभयो । कैलालीको खुटिया, अत्तरिया, बेली, पटेलालगायतका क्षेत्रमा गिद्ध पाइने गरेका छन् । गिद्ध संरक्षणकर्मीका अनुसार कैलालीमा गिद्धको सङ्ख्या १५० को हाराहारीमा छन् । सुदूरपश्चिमका पहाडी क्षेत्रमा पाइने सुनगिद्ध र राजगिद्ध जोगाउनका लागिसमेत निकै चुनौती छ । मुख्य समस्याका रूपमा आगलागी रहेको छ । गिद्धले लगाएका गुँड प्रतिवर्ष आगलागीका कारण जल्ने गरेका छन् । त्यसबाट गिद्धको सङ्ख्यामा निकै गिरावट आएको छ । आगलागी नियन्त्रण गर्न सकिएमात्रै गिद्धलाई लोप हुनबाट जोगाउन सकिने संरक्षणकर्मीको भनाइ छ । गिद्ध मांसहारी चरा भए पनि त्यसले आफैँ शिकार भने गर्दैन । मरेका पशु गिद्धको मुख्य आहाराका रूपमा रहेको छ । वातावरण सन्तुलन गर्नमा गिद्धको महत्वपूर्ण भूमिका रहेको छ । आहाराका लागि गिद्ध टाढा–टाढासम्म उड्ने गर्दछ ।
विश्वमा गिद्धका २३ प्रजाति पाइने गरेका छन् । गिद्ध दिवस मनाइँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरिएको निकुञ्जका सूचना अधिकारी चौधरीले बताउनुभयो । उहाँका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई सङ्ख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा सङ्ख्या पत्ता लगाइने उहाँले बताउनुभयो । त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ । रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…