
ढोरपाटन सिकार आरक्षमा सिकार खेलाउन पाँच कम्पनीले दरभाउपत्र बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत भदौ १७ गतेदेखि शुक्रबारसम्मलाई दरभाउपत्र पेश गर्न समय तोकेको थियो । विभागका अनुसार सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्स, हिमालयन सफारिज र ग्लोबल सफारिजले बोलपत्रमा भाग लिएको हो । बोलपत्रको प्रक्रिया पूरा गरेपछि मात्र कम्पनीले सिकारका लागि अनुज्ञापत्र पाउँछन् ।
प्रतिस्पर्धाबाट शिकार गराउनका लागि हरेक शिकार याममा विद्युतीय बोलपत्र आव्हान गर्ने गरिएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । “प्रतिस्पर्धाबाट छानिएका कम्पनीले तोकिएको कोटाअनुसार आरक्षमा शिकार गराउन पाउँछन्”, उहाँले भन्नुभयो । आरक्षमा वर्षेनी (असोज–मङ्सिर), (फागुन–वैशाख) गरी दुई याममा नाउर र झारलको सिकार खुला हुन्छ । बोलपत्रको प्रक्रिया टुङ्गिएपछि पेशेवर विदेशी शिकारी, कम्पनीका प्रतिनिधिसहितको टोली सिकार खेल्न आरक्षमा पुग्ने विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो ।
हरेक वर्ष असोज दोस्रो हप्तातिरबाट आरक्षमा सिकार खेल्न शुरु हुन्छ । गत वर्ष यही याममा भने ढिलो गरी सिकार खुलेको थियो । कोरोना महामारीलाई हेरेर स्वास्थ्य सुरक्षाको सुनिश्चितता र शर्तसहित सिकार खुला गरिएको थियो । गत (फागुन–चैत) याममा भने नौ नाउर र चार झारलको सिकार गरिएको थियो । विभागले अनुमति दिएकोमध्ये एउटा मात्र झारलको सिकार हुन नसकेको आरक्ष कार्यालयका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभागले दुवै याममा गरी वर्षमा २० नाउर र ११ झारलको शिकार कोटा निर्धारण गर्नेगर्छ । सिकारको सबै काम विभागमार्फत हुने गरेको छ । स्थानीय व्यवस्थापन र अनुगमन मात्र आरक्ष कार्यालयले गर्छ । “सिकारका लागि आरक्षभित्रको सबै प्रबन्धका लागि हामी तयारी अवस्थामा छौँ”, सहायक संरक्षण अधिकृत खड्काले भन्नुभयो ।
विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजस्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजस्व तिर्न तयार हुन्छन् । तीन वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु १३ लाख ५१ हजार र झारल सिकारको रु १३ लाख ५० हजारसम्म राजस्व बुझाउन कम्पनी तयार भएका थिए । अहिले कोरोना महामारीको जोखिम घटेको, यात्रा प्रतिबन्ध पनि हटेको स्थितिमा विदेशी सिकारका लागि ढोरपाटन आउन आतुर छन् । फलस्वरुप बोलभाउपत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । सिकार खेलाएर आरक्षले वर्षेनी कराडौँ रुपैयाँ राजस्व राज्यको ढुकुटीमा योगदान गर्दै आएको छ ।
व्यवस्थित सिकारका लागि आरक्षभित्र सुर्तीबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात ‘ब्लग’ तोकिएको छ । सिकारीले रोजेको ठाउँमा कम्पनीले सिकार गराउने गर्छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एउटै सिकारीले रु ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेको कम्पनी बताउँछन् । सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् ।
सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । १,३२५ वर्ग किमिमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भूभागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…