फेवा किनारमा नव बर्ष महोत्सव २०७९ काे तयारी


     नेचर न्युज    
     चैत्र १० गते २०७८ मा प्रकाशित


होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुने छ । कोभिड– १९ का कारण दुई बर्षसम्म स्थगित् महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको प्रायोजक रहेको छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

दुई दिने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुबेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएका छन् । लेकसाइडका विभिन्न शाखा मार्गहरुलाई लक्षित गरी संयोजकहरु समेत छनौट गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल पार्न विभिन्न सुझाव राख्दै सम्बन्धित सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कोभिड– १९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुबेदीले जानकारी दिए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको र कतिपय तेश्रो मुलुकका पर्यटक समेत देखिन थालेको सुबेदीले सो अवसरमा सुनाए । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास सुबेदीले ब्यक्त गरे । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्यगरी जोड दिने छ ।

विभिन्न उपसमितिहरुको गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारीहरु अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सवको प्रचार समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिए । हालैमात्र पोखरामा सेवा सुरु गरेको अन्नपूर्ण केवलकार प्रालिसँग जोडिएर महोत्सवको प्रबद्र्धन गर्न पाउनु गर्वको कुरा भएको पनि महासचिव ढकालले बताए ।

रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देशविदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टरप्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरुलाई समेट्ने योजना संघले बनाएको छ । ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती पनि सो अवसरमा रहने छन् । महोत्सवको उद्घाटन अघि ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ । यसैविच गत फागुन ८ देखि ११ गतेसम्म आयोजित जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि निम्ता समेत बाँडिसकेको छ ।