आतिसबाजी गरेर पोखरामा अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गरियो


     नेचर न्युज    
     पौष १७ गते २०८० मा प्रकाशित


पोखरा ः पोखराको लेकसाइडमा आतिसबाजी गरेर सन् २०२४ लाई स्वागत गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा फेवाताल किनारमा भएको २५ औं संस्करणको सडक महोत्सवमा गीत, सङ्गीत, विभिन्न खानाको परिकार, सांस्कृतिक झाँकी प्रस्तुत गरेर पनि सन् २०२३ लाई बिदाइ र सन् २०२४ लाई स्वागत गरिएको थियो । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको आयोजनामा भएको सडक महोत्सवको न्यूइयर इहमा फेवाताल किनारमा हजारौँको उपस्थिति रहेको थियो । ठुलो सङ्ख्यामा स्वदेशीको उपस्थिति भएको महोत्सवमा त्यसपछि भारतीय पर्यटकको सङ्ख्या धेरै रहेको थियो । तेस्रो मुलुकका पर्यटकको पनि बाक्लो उपस्थिति देखिएको थियो । अन्नपूर्ण पदयात्रामा गएर फर्केका, पदयात्रामा जान आएका पर्यटकहरूले पोखरामा नयाँ वर्ष मनाए ।

अस्ट्रियाबाट पोखरा घुम्न आएकी आनाले नयाँ वर्ष पोखरामा मनाउँदा निकै रमाइलो भएको प्रतिक्रिया दिइन् । एकै ठाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम हेर्न पाउनु पोखराको सडक महोत्सवको रमाइलो पक्ष रहेको पनि उनले सुनाइन् । अन्नपूर्ण पदयात्रा अन्तर्गत पुन हिल क्षेत्रको पदयात्रा गएर फर्केकी उनी आफू आफ्नो घर फर्केपछि एक पटक अन्नपूर्ण हिमाल क्षेत्रका यात्रामा जान साथीभाइलाई सुझाउने र नयाँ वर्ष पोखरामा मनाउँदा रमाइलो भएको बताउने सुनाइन् । ताल किनारको ३ किलो मिटर क्षेत्रमा विभिन्न सांस्कृतिक झाँकी, कन्सर्ट, गीत सङ्गीतको आयोजना गर्दै विभिन्न खानाका परिकार पस्कँदै सडक महोत्सव मनाइएको हो ।

सडक महोत्सव सोमबार बेलुका देखि सम्पन्न भएको छ । सडक महोत्सवमा स्थानीय, स्वदेशी तथा विदेशी गरेर पाँच लाख पर्यटकको सहभागिता रहेको आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष नरेश बहादुर भट्टराईले बताए । सडक महोत्सव देशका अन्य महोत्सवमा हुने भन्दा भिन्न प्रकृतिको हुने भएकोले पर्यटकको आकर्षण प्रत्येक वर्ष बढ्दै गएको उनले सुनाए । सडक महोत्सव खुला सडक र चौरमा दुई ठाउँमा हुने महोत्सवमा सडकमै विभिन्न सांस्कृतिक नृत्य, झाँकी हेरेर खानाको परिकार खान पाउनु र चौरमा विभिन्न कन्सर्ट, दोहोरी गीत, संगित, नृत्य अवलोकन गर्न पाउने व्यवस्था मिलाइँदै आएको महोत्सवमा संयोजक विश्वराज पौडेलले बताए ।

सडक महोत्सवमा विभिन्न जातजातिका कलात्मक प्रस्तुतिले पनि पर्यटकलाई आकर्षण गर्ने गरेको उनले सुनाए । यसैले प्रत्येक वर्ष पर्यटकको आगमन बढ्दो क्रममा रहेको र पर्यटक अंग्रेजी नयाँ वर्ष मनाउन मात्रै पनि आउने थालेको उनले बताए ।  सडक महोत्सवमा विदेशी पर्यटकको भन्दा स्वदेशी पर्यटकको भिड बढी हुने गरेको छ । पछिल्लो समयमा भारतीय पर्यटक पनि महोत्सवकै लागि आउने गरेका छन् भने एक्याप क्षेत्रको पदयात्राकालागि आएका पर्यटक पनि पोखरामा हुने नयाँ वर्ष महोत्सवमा रमाउने गर्दछन् । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नाराका साथ सडक महोत्सव सुरु भएको हो । 

महोत्सव अन्तर्गत सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रदर्शन, खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट लगायत मनोरञ्जनात्मक गतिविधि पनि भएका थिए । सडक महोत्सवकै कारण पोखरामा अंग्रेजी नयाँ वर्षमा पर्यटकको चाप बढ्ने गरेको छ । क्रिसमस र नयाँ वर्ष अघि सम्म १५ देखि २० प्रतिशत सम्म होटलमा अकुपेन्सी रहेकोमा क्रिसमसमा ५० प्रतिशत र नयाँ वर्षमा आयोजित सडक महोत्सवका कारण करिब ८० प्रतिशत सम्म अकुपेस्नी बढेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । सडक महोत्सवका पाँच दिन चलायमान बनेको पर्यटन उद्योग त्यसपछि भने पुरानै अवस्थामा फर्कने पनि उनले सुनाए । 

अंग्रेजी नयाँ वर्ष, तमु ल्होसार लगायत विभिन्न विद्याका कारण पनि आन्तरिक पर्यटक पोखरा घुम्न आउने बढेको र भारतीय पर्यटकको आगमन पनि बढेकोले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताए । तेस्रो मुलुकका पर्यटक पनि आएकोले चहलपहल बढेको हो । सडक महोत्सवका समयमा २० प्रतिशत भारतीय ३५ प्रतिशत स्वदेशी पर्यटक र बाँकी तेस्रो मुलुकका पर्यटक पोखरामा आएको उनले सुनाए । पोखराको लेकसाइड र वरपर होटेलमा ४० हजार बेड सङ्ख्या  रहेको व्यगसायीले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्ने विश्वासमा ठुलो लगानीमा होटलहरु थपिएका छन् ।