फेवातालमा डुङ्गा व्यवसायीको सिण्डिकेट


     नेचर न्युज    
     असाेज २२ गते २०८१ मा प्रकाशित



पोखरा :  पोखराको फेवातालमा फेवा डुङ्गा व्यवसायीको सिण्डिकेटमा महानगरपालिकाले साथ दिँदा स्ट्याण्ड अप प्याडल, कायक लगायत अन्य साहसिक जलीय पर्यटनका गतिविधि रोकिएका छन् ।

 फेवा डुङ्गा व्यवसायी समितिको निवेदनकै आधारमा जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले  १ महिना १० दिन स्ट्याण्ड अप प्याडल, कायक लगायत जलीय पर्यटकीय आकर्षणका गतिविधि सञ्चालन गर्न रोक लगाएका थिए । महानगरपालिकाकै निर्णयमा  एक महिना रोकिएको खेल पुन सञ्चालनमा  दुई दिनमै स्टयाण्ड अप प्याडल लगायतका खेल पुन डुङ्गा व्यवसायीको दबाबमा कुनै पनि डुङ्गा घाटबाट चलाउन नपाइने गरी महानगरपालिका निर्णयमा पुगेपछि व्यवसाय बन्द भएको प्याडल नेपाल प्रालि पोखराका सञ्चालक निम बहादुर मगरले बताए । 

पोखरा महानगरपालिका लगायत आवश्यक सम्पूर्ण सरकारी निकायमा दर्ता भएर सञ्चालनमा आएका व्यवसायीहरूलाई विनाकारण व्यवसाय गर्न नै रोक लगाउँदा सिजनको बेलामा व्यवसाय चौपट भएको व्यवसायीहरूले बताएका छन् । व्यवसाय सञ्चालनकै लागि पोखरा महानगरपालिकामा मात्रै वर्षमा ३२ हजार कर तिर्दै आएको छ तर महानगरपालिकाले डुङ्गा व्यवसायीको दबाबमा रोक लगाउनु न्याय सङ्गत नभएका पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष समेत रहेका निमले बताए । डुङ्गा व्यवसायीको निवेदनको आधारमा १ महिना बडी बन्द भएको स्टायाड् अप प्याडल लगायतका जलीय खेल फेवाताल डुङ्गा तथा अन्य जलपरिवहन साधन सञ्चालन विवाद सहजीकरण समितिको प्रतिवेदनको आधारमा महानगरपालिकाले आवश्यक कार्यविधि बनाई लागू नहुँदा सम्म साबिककै घाटहरूबाट व्यावसायिक स्वाथ्यकालागि ध्यान दिँदै सञ्चालन गर्ने निर्णय गर्दै असोज ६ गते व्यवसायीलाई  महानगरपालिकाले पत्र पठाएको थियो ।

स्ट्याण्ड अप प्याडलमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । डुङ्गा व्यवसायिकाे सिण्डिकेटका कारण अहिले याे खेल राेकिएकाे छ । तस्बिर साैजन्य प्याडल नेपाल ।

 यसको ४ दिन पछि महानगरपालिकाले फेवा डुङ्गा व्यवसायीको दबाबमा पुन व्यवसायीहरूलाई अर्को पत्र पठाई फेवा डुङ्गा व्यवसायी सङ्गठनबाट विवाद सृजना भएको जनाउँदै  तत्काल केही समयकालागि फेवातालमा सञ्चालनमा रहेका ८ वटा घाट बाहेक वाटर फ्रण्ड रिसोट पश्चिमबाट कम्पनीका कायकिङ तथा स्ट्याण्ड अप प्याडल बोट सञ्चालन गर्न पत्र पठाएको थियो । डुङ्गा  व्यवसायिकाे दबाबमा ४ दिन भित्रै पोखरा महानगरपालिकाका उप सचिव कृष्ण प्रसाद तिवारीको हस्ताक्षर रहेको  पत्रमा निजी व्यवसायीलाई  व्यवसाय गर्न निरुत्साहित हुने गरी थमाइएको पत्रले व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था आएको पुनले बताए । 

महानगरपालिका जस्तो जिम्मेवार संस्थाले अर्को कुनै संस्थाको दबाबमा निर्णय परिवर्तन गरेर व्यवसायीलाई दुःख दिने र व्यवसायबाटै पलायन हुने अवस्था सृजना गर्नु उपयुक्त नभएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताए । महानगरपालिकाले तोकेको ठाउँमा कुनै व्यावसायिक घाट नभएको र व्यक्तिको जमिन भएर जानु पर्ने भएकोले सिजनको बेलामा व्यवसाय ठप्प भएको व्यवसायीले बताएका छन्  । देशका विभिन्न खोला, नदीहरूमा राफ्टिङ व्यवसाय समेत गर्दै आएका ¥याफ्टिङ कम्पनीहरूले पोखरा महानगरपालिका सँग अनुमति लिएरै फेवातालमा कायकिङ तथा स्टयाण्ड अफ प्याडल बोट सञ्चालन गर्दै आएका छन् ।  नदीमा ठाउँ ठाउँमा बनेका जलविद्त आयोजनाले नदी नै सुक्ने गरी सुरुङ भित्र पानी लग्दा  ¥याफ्टिङ व्यवसाय संकटमा रहेको अवस्थामा कर तिरेर अनुमति लिएर पर्यटकलाई लक्षित गरेर फेवातालमा सञ्चालनमा आएको कायकिङ, स्ट्याण्ड अप प्याडल सञ्चालनमा पनि रोक लगाउँदा समस्या आएको व्यवसायीले बताएका छन् । पोखराको फेवातालमा प्याडल नेपाल प्रालि, वाईल्डर नेपाल, वाटर स्पोर्टस नेपाल प्रालि लगायतका पाँच वटा कम्पनीले कायकिङ, स्ट्याण्ड अप प्याडल सञ्चालनमा ल्याएका छन् ।