पोखरा : नेपालमा पर्यटकीय सिजनमा पनि पर्यटक आगमन घटेको छ । यसको मुख्य कारण नेपालमा भएका प्राकृतिक विपद् रहेको पर्यटन व्यवसायीले बताएका छन् प्राकृतिक विपद्को साथै नेपालमा बेला बेलामा भएका जहाज र हेलीकोप्टर दुर्घट्नाका कारण पनि पर्यटकले असुरक्षित महशुस गर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
पटक पटक दोहोरिएर हुने दुर्घट्नाका कारण पनि पर्यटक नेपाल आउन तर्शने अवस्था आएकोले सुरक्षित हवाई यात्रामा सरकारले विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन सिजनको महिना अक्टोबरमा करिब १ लाख ४० हजार पर्यटक आउने प्रक्षेपण गरिएको थियो । तर त्यो भन्दा कम १ लाख २४ हजार ३ सय ९३ पर्यटक मात्र हवाईमार्गबाट नेपाल आएको तथ्याङ्क छ ।
अनुमान गरिएको भन्दा कम आउनुमा गत असोजमा अविरल वर्षा र त्यसपछिको बाढी र पहिरोलाई पर्यटन व्यवसायीले कारण मानेका छन् । विपद्पछि धेरै बुकिङ रद्द भएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् ।पोखरा आउने पर्यटकको संख्या पनि पृथ्वीराजमार्ग स्थरोउन्नतिको काम ढिला हुँदा असर परेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा–काठमाडौं २ सय किलोमिटरको दुरी सडक स्थरोउन्नतिको कारण १० घण्टा र त्यो भन्दा पनि बढी सम्म लाग्ने भएकोले पनि विदेशी मात्र होइन आन्तरिक पर्यटकको आगमन पनि कम भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।
पोखरा आउने पर्यटकहरु अधिकांश अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जान आउने गर्दछन् । यही कारणले अन्नपूर्ण क्षेत्रको पलयात्रामा जाने पर्यटकको पनि आगमन घटेको छ । विशेषगरी तेस्रो मुलुकका पर्यटक पदयात्रामा आउने भए पनि पदयात्रा क्षेत्रमा सडक बनेपछि पदयात्रामै रमाउन आउने पर्यटकको संख्या घट्दो क्रममा रहेको टान पोखराका अध्यक्ष कृष्ण आचार्य बताउँछन् । बस्ती नभएका उच्च हिमाली क्षेत्रमा पनि सडक विस्तारले पदया त्रा पर्यटन संकटमा पर्दै गएको पनि उनले बताए ।