कृषिलाई पर्यटन सँग जोड्न फेवा फाँटमा दाइँ महोत्सव


     नेचर न्युज    
     माघ ७ गते २०८१ मा प्रकाशित


पोखरा ः देश भर दाइँ राखेर धान भित्र्याई सकेको समयमा पोखराको फेवा फाँटमा पर्यटकलाई आकर्षण गर्न दाइँ महोत्सव गरिएको छ । पोखराको फेवा फाँटमा माघ महिनाको पहिलो हप्ता आइतबार दाइँ महोत्सव भएको हो ।

असारमा लगाएको धान खेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारा पहारीले बताए । फेवा फाँट जेठोबुढो धानकालागि पकेट क्षेत्र मानिन्छ । दाइँ महोत्सवमा ११ वटा गोरु प्रयोग गरेर दाइँ राखिएको थियो । दाइँ महोत्सवमा विभिन्न देशका १५ जना विदेशी पर्यटक, विद्यार्थी लगायतको सहभागीता रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

पोखरा २३ जेठोबुढो धान, कोदो लगायतका खाद्यन्नकालागि पकेट क्षेत्र मानिन्छ । कृषिलाई पर्यटन सँग जोड्न दाइँ महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले बताए । नेपाली परम्परागत कृषि प्रणालीलाई पर्यटक मात्र होइन नयाँ पुस्तालाई पनि जानकारी दिने उद्देश्यले पनि असारमा रोपाइँ महोत्सव जस्तै गरी दाइँ महोत्सवको आयोजना गरिएको पनि उनले सुनाए । पछिल्लो समयमा फेवा सिमसार लगायताका धान खेतीकालागि उर्वर दलदल भूमि पुरेर प्लटिङ भइरहेको छ । यही अवस्थामा कृषिबाटै पनि आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश दिन पनि महोत्सवको आयोजना गरिएको आयोजक संस्थाले जनाएका छन् ।

पर्यटकको बसाइँ लम्ब्याउन पनि यस्ता महोत्सव महत्त्वपूर्ण हुने भएकोले दाइँ महोत्सव आयोजना गरिएको आयोजक पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले बताए । दाइँ महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले बताएका छन् । आगामी वर्ष भने मंसिरको अन्तिम हप्ता देखि पुस महिनाको मध्य महिना भित्रै दाइँ महोत्सव आयोजना गरिने परिषद्ले जनाएको छ ।  

गवारो किराले फेवा फाँटमा धान उत्पादन घट्यो 

फेवा फाँटमा यस वर्ष गवारो किराले धान उत्पादन घटेको छ । फेवा सिरानको फाँटको करिब हजार रोपनी क्षेत्रफलमा लगाइएको धानलाई गवारो किराले असर पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।गवारो किराको कारण फेवा फाँटको मार्गीको कुनै भागको धान उत्पादन शून्य भएर धान नकाटी आगो समेत लगाउने परेको किसान राधादेवी लामिछानेले बताइन् । दाइँ महोत्सव भएको खेतमा पोहोर ८० मुरी उत्पादन भएकोमा यस वर्ष ३० मुरी मात्र धान फलेको जग्गा धनी फबेन्द्र गुरुङले बताएका छन् । पोखराको फेवा फाँटका गवारो किराले धान उत्पादन घटे पनि अन्यत्र लगाइएको हाइब्रिड धान उत्पादन राम्रो भएकोले समग्रमा धान उत्पादन पोहोरको बराबर नै भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । 

पोखरामा ४० हजार मेट्रिक टन धान उत्पादन  –कृषि महाशाखा 

पोखरामा ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । पोखरामा यस वर्ष जेठोबुढो धान उत्पादन घटे पनि समग्रमा गत वर्ष जति नै धान उत्पादन भएको पोखरा महानगरपालिका कृषि महाशाखाले जनाएको छ । 

पोखरामा गत वर्ष ४० हजार मेट्रिक टन धान उत्पादन भएको र यस वर्ष पनि उतिकै हाराहारीमा धान उत्पादन भएको कृषि महाशाखा प्रमुख  मनहर कडरियाले जानकारी दिए ।  पोखरामा धान उत्पादनको कुल क्षेत्रफलको ४० प्रतिशत क्षेत्र लगभग ४५ सय हेक्टरमा जेठोबुढो धान खेती हुने गरेको र बाँकी अन्य जातका धान रोप्ने गरेको पनि कृषि महाशाखा प्रमुख कडरियाले बताए । पोखरा महानगरको ग्रामीण क्षेत्रमा अझै पनि गोरुले जोतेर खेती गरिँदै आएको छ । पोखरा महानगरपालिकाले वास्तविक किसानले राहत पाओस् भन्ने उद्देश्यले हलगोरु पाल्ने किसानलाई प्रति हलगोरु १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

पोखरा महानगरपालिका कृषि महाशाखामा ६ सय किसानले हलगोरु पालेको भन्दै आवेदन दिएका छन् । त्यसमा महानगरपालिकाले अनुगमन गरिरहेको र अहिले सम्म ५९० जना किसानले हलगोरु पालेको देखिएको र बाँकीको अनुगमन भइरहेको पनि उनले बताए । आइतबार भएको दाइँ महोत्सवमा ११ वटा गोरु प्रयोग गरेर दाइँ गरिएको थियो ।