लेकसाइडको एक्लो घुमाउने घर


     कृष्णमणि बराल     
     असार ४ गते २०७८ मा प्रकाशित


नेपाली परम्परागत शैलीका घुमाउने घर आधुनिक शैलीका घर बनाउने होडमा हराउँदै गएका छन् । पोखरामा २० वर्ष अघिसम्म पनि घुमाउने घर धेरै देखिन्थे। रातो माटोले लिपेका¸ खरले छाएका घर निकै सुन्दर र आकर्षक देखिन्थे।

अहिले पोखराका मुख्य बजारमा घुमाउने घर देखिनु मुस्किल छ। गाउँमा पनि यस्ता घर हराउँदै गएका छन्। पुराना शैलीका घरको ठाउँ अहिले अग्ला गगनचुम्बी व्यवसायिक घरहरूले लिँदै गएका छन्। नेपाली इन्जिनियरिङ प्रविधिमा बनेका मौलिक घरहरू हराउँदै छन्। 

कंक्रिट घरहरूले भरिंदै गएको पोखराको पर्यटकीय क्षेत्र बैदाम (लेकसाइड) मा भने अझै पनि एउटा घुमाउने घर संरक्षण गरेर राखिएको छ। घुमाउने घर मात्र होइन¸ त्यतिबेला प्रयोग भएका ठेकी¸मान्द्रो¸ टुकी¸ पानस¸ स्याखु¸ भकारी¸ डोको¸ नाम्लो¸ जाँतो¸ ढिकीलगायतका सामग्री सुरक्षित गरेर म्युजियमकै रूपमा राखिएको छ।

घुमाउने घरसँगै पोखरा ६ बैदामका कृष्णराज पहारी ।

दाजुभाइ छुट्बिन्द हुँदा घुमाउने घर कृष्णराज पहारीको अंशमा पर्यो। कृष्णका छोराहरू पनि छुट्बिन्द हुँदा जेठा छोरा राजु पहारीको अंशमा घुमाउने घर पर्यो। उनै राजुले होटल बनाउँदा पनि घुमाउने घर जोगाएर राखे। अब त्यही घुमाउने घरमा थप सजावट गरेर नेपाली परम्परा झल्कने म्युजियम बनाउने उनले सुनाए। पोखरा ६ बैदाममा यो एक्लो घुमाउने घर भएको वडा सदस्य हरि पहारीले सुनाए।

घुमाउने घर करिब दुई सय वर्षअघि हजुरबुबाका बुवा (जिजुहजुरबा) ले बनाउनु भएको हो। त्यति ऐतिहासिक घुमाउने घर संरक्षण गर्नुपर्छ भनेर त्यतिबेलाका चलनचल्तीका सामग्रीसमेत सुरक्षित रूपमा राखेको राजु पहारीले सुनाए। रातो माटोले लिपेको घुमाउने घर दुई तलाको छ। भित्र हेर्दा नखुलेको म्युजियमजस्तै घरभित्र पुराना प्रयोगमा आएका सामग्री पनि छन् । घरभित्र पुरानो परम्परागत अगेनोको नजिकै सुत्ने ठाउँ¸ खाना पकाउने र आगो ताप्ने अगेनो पनि छ।

ठूलो मदुस¸ ढोकामा परम्परागत चुकुल औलो छ। अहिले खरको ठाउँ टिनले लिएको छ। घुमाउने घरलाई म्युजियम नै बनाउने योजनामा रहेका राजुले त्यतिबेला खरले नै घर छाउने सुनाए। म्युजियम खोल्नुअघि नै खरको छानो राख्ने योजना रहेको उनले बताए। यस्ता घरमा माथिल्लो तलामा जान एउटै मुडाको लिस्नो (भर्याङ) हुन्थ्यो। तलामा धान राख्ने भकारी¸मकैको कुनियो लगाएर राखिन्थ्यो। यी पुराना शैली र परम्परा अहिले हराउँदै गएका छन्। यो घुमाउने घरमा भने त्यो सबै देख्न पाइन्छ। यस्ता परम्परागत घर देखेपछि विदेशी पर्यटक मात्र होइन नेपाली पनि मोहित हुने गरेका छन्।

बैदाममा १०/१५ वर्ष अघिसम्म पनि करिव ६ वटा यस्ता घुमाउने घरहरु थिए। पर्यटकको प्रमुख आकर्षणको केन्द्रको रूपमा विकास हुँदै गएपछि घुमाउने घर भत्काएर कंक्रिटका घरहरू बन्ने होडवाजी नै चल्यो। योसँगै यहाँका पुराना मौलिक घरहरू हराउँदै गए। बैदाममा मात्र होइन पोखराका मुख्य बजारमा अन्यत्र पनि यस्ता घर हिजोआज देखिँदैनन्।

नेपाली शैलीका ढुङ्गा¸ माटो¸ काठ र खरले बनेका यस्ता घर स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ। यस्ता घरमा बस्दा गर्मी मौसममा शीतल हुने र जाडोमा न्यानो हुन्छ। ढुङ्गामाटोले बनेका यस्ता घरको आयु सिमेन्टले बनेका घरको भन्दा धेरै गुना टिकाउ हुने काठका घरमा विद्यावारिधि गरेका डा. सुन्दर पौडेल बताउँछन्। नेपाली मौलिकता र प्रविधिमा बनेका यस्ता घरको संरक्षण गर्नुपर्ने पुराना परम्परागत घरको अनुसन्धानसमेत गरिरहेका डा. पौडेलले सुनाए ।