नयाँ विमानस्थल सञ्चालन सँगै पोखरा–ढाका सिधा हवाई उडान


     नेचर न्युज    
     श्रावण १० गते २०७८ मा प्रकाशित


पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् ।हाल ढाका–काठमाडौँ दैनिक एक उडानमात्रै हुँदै आएको छ ।

५ करोड जनसङ्ख्या रहेको बङ्गलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवर्द्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताए । विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता जनाए ।पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झन्डै ५० हजार हाराहारीमा बङ्गलादेशीहरू नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बङ्गलादेशीको आकर्षण पोखरामा बढ्दै गएको बताए ।कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव संगीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल लगायतले बोलेका थिए । छलफलमा बङ्गलादेशका ५ प्रतिनिधिको सहभागिता थियो ।पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ ।