डाईनासोर लोप हुँदा पनि लोप नभएको पुतलीले सबैको मन उडाउँछ


     नेचर न्युज    
     श्रावण १० गते २०७८ मा प्रकाशित


केही पुतलीहरु कछुवाको आँखामा पालोपालै बसिरहेका थिए l रसिला आँखाबाट निस्किएको आँसु चुस्दै उडिरहेका थिए l केही बर्षअघि पेरुमा भएको यो घटनालाई ‘फिल टोरेस’ नाम गरेका घुमन्ते तथा किट विज्ञले खिच्न सफल भए l उनको युट्युब च्यानलमा राम्रा प्रतिकृयाहरु छन् l

केहि बर्षअघि पङ्क्तिकार नवलपरासी जिल्लाको अमलटारी  घरबास क्षेत्रमा वन्यजन्तु अनुसन्धानको तालिमको सहजीकरणको  लागि गएका थिए l सो बेला पसिनाले लतपत उनको हातमा करिब ५ मिनेटसम्म पुतली बस्यो l हिडिरहँदा पनि सो पुतली उडेको थिएन l

कछुवाको आँखा वा मेरो हात होस्, पुतलीहरू खनिज पदार्थ वा खानाको लागि त्यसो गरेका रहेछन l यिनीहरुले झोलिलो पदार्थहरू खाने गर्छन् l    

चिसो  माटो, गोठको छेउछाउ, गाईवस्तुले गोब्राएको स्थान, पानी भएको ठाउँ, रसिला पहराहरू र बगैचाहरूमा रमाउने पुतलीहरू देखेर नरमाउने को होला र ! वास्तवमा भन्ने हो भने उड्ने पुतलीले सबैको मन उडाउँछ l

राम्रा अनुहार भएका महिलाहरूलाई कस्तो पुतलीजस्तो राम्रो भनेर उपमा दिईने गरिन्छ l हामी साना हुँदा खेरि पुतलीको पखेटामा भएको रङ्गको टीका  लगाईयो भने राजा हुन पाइन्छ समेत भनिन्थ्यो l 

पुतली के हो ?

यिनीहरू किरा हुन् l ६ वटा खुट्टाहरू हुन्छन् l शरीर तिन भागमा बाँडिएको हुन्छ l यसका दुइवटा एन्टेना हुन्छन् l यिनको आयु असाध्यै कम हुन्छ l केही दिनदेखि केही महिनासम्म मात्र यिनीहरू प्रकृतिमा रहन्छन्l औसतमा एक महिनासम्म जीवित रहन्छन् l कुनै कुनै पुतली १ बर्ष वा सो वरिपरिसम्म बाँचेको अभिलेख छl

राति सक्रिय हुने पुतलीलाई निसाचर पुतली पनि भनिन्छ l  संसारभर करिब २० हजार  प्रजातिका पुतलीहरू भेटिएका छन् र नेपालमा करिब ६ सय ५५ प्रजातिका पाइएका छन् l

यिनीहरु २० करोड बर्षदेखी अस्तित्वमा रहेको अध्ययनले देखाएको छ l  वासस्थान बिनास, वन बिनास, बिषादीको प्रयोग,  हुरी बतास, तापक्रम बृद्धि, डढेलो, जन चेतनामा कमी आदि कारणले यिनको अवस्थामा असर पुग्दै आएको छl 

यिनीहरू अरुबाट कसरी जोगिन्छन् ?

यिनीहरू उडेर आफ्नो सत्रुबाट जोगिन्छन् l यिनीहरू ढिलोमा ८ र छिटोमा ४८ किलोमिटर प्रतिघण्टा सम्म उड्न सक्छन् l

यिनीहरूले आफूलाई अन्य शिकारीहरूबाट प्रतिरक्षा गर्न सक्दैनन् l कुनै कुनै पुतलीहरू बिषालु हुन्छन् l यिनलाई खाएपछि जसले खान्छन् तिनीहरू बिरामी पर्ने , घुमाउने, वोमिट गर्ने वा खानु हुँदैन भन्ने ज्ञान प्राप्त गर्छन् l त्यसपछि उक्त जीवले कुनै पनि पुतली खाने आँट गर्दैनन् l

यिनीहरूले प्रकृतिमा रहेका फूल, पात, हाँगा वा आफूजस्तै रङ्गहरूमा मिसिएर जोगिन्छन् l

यिनलाई जोगाएर के हुन्छ ?

यिनको उपस्थितिले प्रकृति कत्तिको स्वस्थ छ भनेर जानकारी मिल्छ l

यिनको छोटो आयु र संबेदनशील शरीरको कारणले  वरिपरिको वातावरणमा आउने सामान्य परिवर्तनले पनि यिनमा परिवर्तन देखिन्छ, जसले गर्दा पुतलीको अनुसन्धानबाट प्रकृतिका विभिन्न आयामहरूको बारेमा भन्न सक्छौं l 

वन, खेतबारी, घर वरिपरि घुमिरहँदा पुतली देखियो भने मनै आनन्द हुन्छ l यसले मानसिक तनाव कम गर्न निकै सहायोग गर्दछ l 

चरा , चमेरा, छेपारो तथा वन्य वन्यजन्तु यिनलाई खानाको रूपमा प्रयोग गर्छन l यसले गर्दा प्रकृतिलाई सन्तुलित  बनाई राख्छन् l

बिरुवाहरूको परागसेचनमा  समेत महत्वपूर्ण भूमिका रहेको छ l  

पुतलीमा आधारित पर्यटनसमेत प्रवर्धन गर्न सक्छौं l

विभिन्न किराहरूको फुल, लार्भाको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्छन्ख l

पुतलीसम्बन्धी रमाइला तथ्यहरू तथा विश्वासहरू

  • उत्तरी अमेरिकामा पाइने मोनार्क पुतली ४ हजार किलोमीटरसम्म बसाईसराई गर्दछन् l
  • Giant Swallowtail पुतली ठूलो मध्ये पर्दछ l यिनीहरूले पखेटा फिजाउँदा १७ सेमी सम्म हुन्छन् l तर कुनै-कुनै पुतलीको  पखेटा फिजाउँदा १ फिटसम्म हुने गर्छ l
  • पोथी पुतलीले लार्भालाई प्रशस्त खान मिल्ने पातहरूको छनोट गरेर पारेको  फुललाई लेसिलो पदार्थको माध्यमबाट टाँस्ने गर्दछ l  यसपछि यिनीहरूले छोडिदिन्छन् l
  • पुतलीको खुट्टामा स्वाद थाहा पाउने सेन्सर हुन्छन् l  यसैले खाना पत्ता लगाएर खान हुने कि नहुने पत्ता लगाउँछन् l 
  • निसाचार पुतलीहरू चन्द्रमाको प्रकासको आधारमा एक ठाउँबाट अर्को ठाउँमा उड्न सक्छन । यही कारणले मानव सृजित प्रकाशले यिनलाई निकै असर गर्छ l 
  • पुतलीहरूले झोलमात्र खानाको रूपमा प्रयोग गर्छन् l
  • किटबिज्ञहरूका अनुसार पुतलीहरूले दु:खको अनुभव गर्न सक्दैनन् l कसैले समाएको, छोएको थाहा त हुन्छ तर तिनको स्नायु प्रणालीमा (nervous system) दु:ख थाहा पाउने अङ्ग (receptors) नहुने भएकोले यसो भएको हो l 
  • तान्जेनियामा ७ प्रजातिका पुतलीहरूको प्रयोग गरेर सुत्केरी हुने समयमा महिलाहरूलाई दुखाई कम गर्न प्रयोग गरिन्थ्यो l
  • ग्रिस परम्परामा मानिसको  आत्मा र पुतलीको बिसेष सम्बन्ध हुने बताईन्छ l हाम्रा पुर्खाहरूको आत्मा पुतलीमा हुन्छ भनेर बिश्वास गरिन्छl 
  • युगान्डामा यसको पखेटामा भएको रंग /पाउडर छोइयो भने मानिसलाई कोढ हुने र बहुला समेत बनाउन सक्छ भन्ने बिश्वाश गरिन्छ l
  • नाइजेरियामा दिउँसो घरमा पुतली छिरे राम्रो मानिन्छ भने राति छिरे नराम्रो मानिन्छ l

अन्तमा

कतिपय बैज्ञानिकहरू डाईनासोरसँगै पृथ्वीमा रहेका पुतलीहरू,  डाईनासोर लोप हुँदा पनि बाँच्न सफल भएको बताउँछन् l   पुतलीलाई कमजोर प्रकृतिका जीव मानिन्छ, त्यसैले यिनको जिवास्मा भेटिनु दुर्लभ घटना हुने गर्दछ l यिनको अनुवांशिक अध्ययनले यिनको विकासक्रमलाई खोतल्ने प्रयास गरिएको छ l  यिनको थप अध्ययनले वासस्थान बिनास, जलवायु परिवर्तन जस्ता आधुनिक चुनौतिको बारेमा थप जानकारी प्राप्त हुन सक्छ l  त्यसैले सानो भनेर हेलाँ नगरौं l यिनीहरू हेर्दा राम्रो मात्रै होइनन्, मानवको लागि सहयोगीसमेत छन्l