
तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । देशकै प्रमुख पृथ्वीराजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रूखमाथि एउटा काठको घर बनाइएको छ । रूखलाई भित्रपट्टि पारेर काठले बनाइएको घर छ, दुई तलाको । छानोसमेत काठैले छाएको यो घरको नाम ‘ट्री हाउस’ राखिएको छ ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्री हाउस’ यतिबेला भाइरल बनेको छ । फेसबुक र टिकटकमा देखेपछि म्याग्दे–३ जामुने निवासी इन्दु श्रेष्ठको मन पनि लोभियो । जसले पनि ‘ट्री हाउस’ पुगेको फोटो र भिडियो अपलोड गर्दा कहिले पुगूँ भएको थियो उहाँलाई । तस्बिर खिचाउनैका लागि भए पनि साथीसँग घुम्ने चाहना भएको उहाँले बताउनुभयो । ‘अरूको देख्दा आफूलाई पनि यहाँ फोटो खिच्ने धोको थियो त्यै भएर साथी मिलेर आयौँ’, उहाँले भन्नुभयो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रूखमा बनाइएको घर नौलो गन्तव्य भएकाले धेरैको मन जितेको उहाँको बुझाइ छ । साथीभाइ र परिवारसँग ‘रिफ्रेस’ हुनलाई यो गन्तव्य उपयुक्त हुने उहाँले बताउनुभयो ।
इन्दु जस्तै सामाजिक सञ्जालमा देखेकै भरमा यहाँ घुम्न आउने आन्तरिक पर्यटक दैनिक बढिरहेका छन् । निर्माण सम्पन्न नहुँदै दैनिक दुई सयभन्दा बढी पर्यटक ‘ट्री हाउस’ घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिनुभयो । ‘रूखमा बनेको घर सम्पन्न भएको छैन । उद्घाटन पनि नहुँदै घुम्न आउने पर्यटक बढेका छन्’, उहाँले भन्नुभयो, ‘यति चाँडो यसरी पर्यटक बढ्लान् भन्ने अपेक्षा नगरिए पनि सामाजिक सञ्जालले ‘ट्री हाउस’ लाई पर्यटकीय गन्तव्य बनाउन सघाएको छ ।‘
‘ट्री हाउस’ले जस्तै चर्चा बटुलेको छ म्याग्दे गाउँपालिका–५ थाङ्दीमा रहेको थाङ्दी झरनाले पनि । सुनसान खोँचमा रहेको झरनाको सुन्दरता नियाँल्न पुग्नेको यतिबेला दैनिक भीड छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तँछाडमछाड नै देखिन्छ ।
निषेधाज्ञाको समेत वास्ता नगरी आन्तरिक पर्यटक झरनामा पुगिरहेका छन् । कान्छी बाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटकीय गन्तव्य बनेको छ । झरनाको दृश्य नियाँल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो छ ।
तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको छ । पर्यटक बढ्नुको श्रेय सामाजिक सञ्जाललाई दिनुहुन्छ स्थानीयवासी अमृता भट्टराई । झरना पहिलेदेखि नै थियो तर गुमनाम थियो । पछिल्लो तीन वर्षमा सामाजिक सञ्जालकै भाषामा भन्ने हो भने भाइरल भयो । भट्टराई भन्नुहुन्छ, ‘टिकटक, फेसबुकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।‘
सामाजिक सञ्जालकै कारण गुमनाम जस्तै तनहुँको मानुङकोट गत वर्षदेखि चर्चित पर्यटकीय गन्तव्यमा दर्ज भएको छ । टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्रामले गत वर्षको दशैँपछि व्यास नगरपालिका–५ मा रहेको मानुङकोटलाई निकै चर्चित बनाइदियो ।
महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो अवस्थित छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको मस्त दृश्यपान गर्न लालायित आन्तरिक पर्यटकको भीडले गत वर्ष इतिहास नै रच्यो । कोरोना कहरको बेवास्ता गर्दै एकै दिन दश हजारभन्दा बढी मानुङकोटको डाँडो उक्लिए ।
बादलमाथि हुने सूर्योदय र आफू एउटै सतहमा भएजस्तै देखिने तस्बिर सामाजिक सञ्जालभर छ्यापछ्याप्ती आउन थालेपछि देशभरका पर्यटक यहाँ ओइरिएका थिए । सायद हजारौं वर्ष अगाडिदेखि नै सुन्दर थियो यो स्थान तर अहिले चर्चित बनाउने काम सामाजिक सञ्जालले गरे ।
शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा पनि यो वर्षदेखि आन्तरिक पर्यटक भरिन थालेका छन् । भर्खर पहिचान भएको र पूर्वाधार विकासमा बामे सार्दै गरेको एक्लेडाँडाको फोटो, भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक बढेका हुन् । बिहानको हिँडाइ (मर्निङवाक) देखि बेलुका टहल्नसमेत मानिसहरु यहाँ आउन थालेका छन् । दिउँसो साथीभाइसँग आउने पर्यटकको त झन् कुरै भएन ।
तनहुँको पर्यटनमा बन्दीपुर एउटा ब्रान्ड हो । बन्दीपुरबाहेक तनहुँमा घुम्ने ठाउँ छैन भन्ने धारणामा परिर्वतन ल्याइदिएको छ सामाजिक सञ्जालले । न्यून सङ्ख्यामा पर्यटक पुग्ने तर पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्लाको छिम्केश्वरी, आडीमूल, हिलेखर्क, ऐनापहरा झरना, बन्दीपुरको सिद्धगुफा, टुटेपानी, भिमादको सिद्ध गुफा र चमेरे गुफा, व्यास पराशर क्षेत्र, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, एक्लेडाँडा, भुजिकोट, मिलेनियम गुफा, ढोर मूलकोट दरबार, गलेखामकोटलगायतका गन्तव्यलाई प्रवद्र्धन गर्न सामाजिक सञ्जालले सघाएको छ ।
पछिल्लो समय सञ्चारकर्मीको कलम र क्यामेराले समेत पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइरहेकाले पर्यटन प्रवर्धनमा सघाउ पुगेको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दा यस्ता रचनात्मक काममा सहयोग पुग्ने यो एउटा गतिलो उदाहरण पनि हो । रासस



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…