
गलेश्वर, म्याग्दी : खेतका फाँटमा धानका गाभा भरिन थालेका छन् । धान रोपिसकेर सिँचाइ गर्नका लागि खेतमा पुगेका किसान खेतका गरामा धानसँगै उम्रिएका झार उखेल्न र खेतका आली थुनेर पानीको प्रबन्ध मिलाउन व्यस्त छन् । हरिया भएका धानका बिरुवा डुबाउने गरी खेतका गरामा भरिएको पानीले फाँटको सौन्दर्य नै बेग्लै बनेको छ ।
धानखेतीका लागि यति महत्व दिएर मरिमेट्ने म्याग्दीका किसानले नजिकको बारीमा भने कोदोखेती गरेका छैनन् । घर अगाडि र वरिपरिकै बारीमा कोदो रोपिएको छैन । कसैकसैले बारीका कान्ला र गरामा फलफूलखेती गरेका भए पनि अधिकांशका बारीमा सिरु फुलेको छ । वनमारा र अन्य झारले बारी ढाकेको छ ।
म्याग्दीका ग्रामीण भेगबाट समेत कोदोखेती हराउँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभ चिज जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ ज्यामरुककोटका हरि शर्माले बताउनुभयो । करिब १० वर्षअघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । ‘कोदो रोप्नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् कोदो ?’ ५७ वर्षीय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ ।
काम गर्ने जनशक्ति नहुनु तथा खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका बलबहादुर शेरपुर्जाको घरमा पनि खेती गर्ने मानिस छैनन् । उहाँको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् । छोराले बेनी बजारमा व्यापार गर्छन् भने बुहारीले घरमै पसल । वर्षौँ पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेडा पनि छैन । कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उहाँले बताउनुभयो ।
‘कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?’, उहाँले सम्झिनुभयो, ‘हामी साना हुँदा कोदोको ढिँडो र तरकारीसँग एक पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।‘ अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ ।
औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भविराज विकले बताउनुभयो । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताउनुभयो ।
गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटल यतीकी सञ्चालिका विमला गौचनले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।
कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ ।
चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइने ज्यामरुककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे बताउनुहुन्छ ।
तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँको भनाइ छ । म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…