जोमसोममा जलवायु परिवर्तन सम्मेलन : ‘घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३’ जारी हुँदै


     नेचर न्युज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित


मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलनको संघीय सरकारकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले विश्व मानचित्र अंकित बेलुन अनावरण गरी उद्घाटन गरिन्।

सम्मेलनमा देशभरका ४३१ स्थानीय तह र ४१ जिल्ला समन्वय समितिका प्रमुख तथा अध्यक्षसहित जलवायु क्षेत्रका विज्ञहरूको सहभागिता छ। सम्मेलनमा हिमनदी पग्लिने क्रम, हिमताल फुट्ने जोखिम, हिमरेखा तथा रुखरेखामा आएको परिवर्तन, खानेपानी तथा सिँचाइ संकट र जलवायु परिवर्तनले कृषि, पशुपालन तथा पर्यटनमा पारेको असरबारे छलफल भइरहेको छ।

जलवायुजन्य जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायमा साझा रणनीति बनाउने उद्देश्यले आयोजना गरिएको सम्मेलनले बुधबार कालीगण्डकी नदी किनारबाट ‘घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३’ जारी गर्ने आयोजकले जनाएको छ।