पर्यटन व्यवसायी र मजुदरकालागि खोप अभियान सुरु


     नेचर न्युज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित


पोखराका पर्यटन व्यवसायी र मजदुरकालागि छुट्टै कोभिड विरुद्धको खोप अभियान सुरु भएको छ । पोखरामा बिहीबार देखि अभियान सुरु भएको हो । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् ।

पर्यटन व्यवसायी र मजदुर लक्षित खोप अभियान प्रदेशका सबै जिल्लामा लगतै सुरु हुने पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । खोपको कारणले कोही पनि निराश हुन पर्ने अवस्था नआउने मन्त्री शर्माले सुनाए । कानुन मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीहरुले धेरै अगाडी देखिबाट खोपको माग गर्दै आएकोमा वर्तमान सरकारले उहाँहरुको माग अनुसार सम्बोधन सुरुवात गरेको बताए । यसरी नै व्यवसायीहरुको मागलाई निरन्तर रुपमा सम्बोधन गर्ने मन्त्री थापाले बताएका छन् । मन्त्रीद्वय शर्मा र थापाले पोखरा पर्यटन परिषदको संयोजनमा निर्धारण गरिएका पाँच वटा खोप केन्द्रको निरीक्षण गरेका थिए ।

पर्यटन व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप अभियान सुरु भएकोमा व्यवसायीले खुसी व्यक्त गरेका छन् । पोखरा पर्यटन परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले यो अभियान सबै व्यवसायी र मजदुरले खोप पाउने गरी हुनु पर्ने बताए । कोभिडको कारण थला परेको व्यवसाय खोप अभियान संगै चलायमान हुने उनले विश्वास गरे ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले खोप अभियान पछि स्वदेशी र विदेशी पर्यटकको आगमन बढ्ने विश्वास गरे । भिजिट नेपाल २०२० को मुखैमा सन् २०१९ को डिसेम्बर महिनामा चीनमा पहिलाे पटक देखा परेर विश्वभर फैलिएको कोरोनाका कारण पर्यटन उद्योग थला परेको छ । पर्यटन उठाउन र प्रबद्र्धनका लागि खोप अभियानलाई निरन्तरता दिनु पर्नेमा भट्टराईले जोड दिए ।