
अफ्रिकामा वासस्थान स्थानान्तरणका लागि यसरी जनावरहरूलाई ओसार्ने क्रम निकै बढिरहेको छ । गैंडालाई उत्तानो झुन्ड्याएर जनावरहरूमा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानलाई यो वर्षको आईजी नोबेल पुरस्कार प्रदान गरिएको छ।
फुटपाथमा टाँसिएका चुइगममा पाइने जीवाणु तथा पनडुब्बीमा साङ्ला नियन्त्रणका लागि अनुसन्धान गर्ने टोलीहरूले पनि यो पुरस्कार हात पारेका छन्। तर “नक्कली नोबल” वा “व्याङ्ग्यात्मक नोबेल” पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो चाहिँ छैन। हार्भर्ड यूनिभर्सिटीमा हुँदै आएको यो पुरस्कार वितरण कार्यक्रम कोरोनाभाइरससम्बन्धी प्रतिबन्धका कारण यो वर्ष भौतिक उपस्थितिमा हुन सकेन।
अनलाइनबाटै पुरस्कार
तर अनलाइनबाटै यो पुरस्कार वितरणमा हुने सधैँजस्तो रमाइलोहरू गरिएको थियो। विज्ञानसम्बन्धी हास्यपत्रिका ‘एनल्स अफ इम्प्रोबबल’ रिसर्चले भनेको छ, “यो पुरस्कारले पहिले तपाईँलाई हँसाउँछ र पछि सोच्न बाध्य बनाउँछ।”
यो वर्ष पुरस्कृत भएको गैँडाहरूलाई ओसार्नका लागि गरिएको अनुसन्धान पनि ठ्याक्कै त्यस्तै छ। बाह्रवटा गैँडालाई उत्तानो पारेर १० मिनेटसम्म झुन्डाउनुजस्तो मूर्खतापूर्ण काम अरू के हुन सक्ला ? तर कोर्नल यूनिभर्सिटीका वन्यजन्तु चिकित्सक रोबिन र्याडक्लिफ र उनका साथीहरूले नामिबियामा ठ्याक्कै त्यही गरे। उनीहरू खुट्टामा बाँधेर हेलिकप्टरमा उल्टो झुन्डाउँदा जनावरहरूको स्वास्थ्यमा कुनै असर पर्छ कि पर्दैन भन्ने जान्न चाहन्थे।
किन गरियो अनुसन्धान

अफ्रिकामा वासस्थानान्तरणका लागि यसरी वन्यजीवलाई ओसार्ने क्रम निकै बढिरहेको छ। “तर कसैले पनि अचेत पारिएको जनावरलाई उत्तानो झुन्डाएर उडाउँदा उनीहरूको मुटु र फोक्सोलाई अप्ठ्यारो पर्छ कि पर्दैन भनेर कसैले पनि आधारभूत अनुसन्धान गरेको थिएन,” रोबिन भन्छन्।
“नामिबिया मात्रै यस्तो देश हो जसले यस्तो कार्य रोकेर सुरक्षित छ वा छैन पत्ता लगाउन अघि सर्यो,” उनले बीबीसीसँग भने।
यो अध्ययनमा रोबिनको टोली संलग्न भयो। उनीहरूले त्यहाँको वन, वातावरण तथा पर्यटन मन्त्रालयसँगको सहकार्यमा १२ वटा गैँडालाई लट्ठाएर क्रेनको सहायताले उत्तानो झुन्ड्याए। यो अवधिमा ती गैँडाहरूको शारीरिक प्रतिक्रिया मापन गरियो।
अध्ययनले यसो गर्दा गैँडाहरूले सहजै सामना गरेको देखायो। अर्को प्रमाण पनि के फेला पर्यो भने गैँडाहरूले एकतर्फ कोल्टाएर सुताउँदाभन्दा यसरी अनौठो गरी झुन्डाउँदा अझै सहज महसुस गरेको पाइयो। “मेरो विचारमा गैँडा एकतर्फ कोल्टो पर्दा रक्तसञ्चारमा उसलाई असर पर्छ।
फोक्सोको तल्लो भागमा धेरै रक्तचाप हुन्छ तर माथिल्लो भागमा गुरुत्वाकर्षणका कारण श्वास पुग्दैन। तर उत्तानो बनाउँदा सुल्टो उभिएको जस्तै फोक्सोले श्वास लिन सक्छ,” उनी भन्छन्। “हामीले यो पनि देख्यौँ कि एकतर्फ मात्रै ढल्काएर धेरै बेर राखिएका गैँडाहरूको मांसपेशीमा गह्रौँ शरीरका कारण क्षति पुग्न सक्छ,” रोबिन थप्छन्।
अनौठो पुरस्कार
आईजी नोबेलमा पनि साँच्चिकै नोबेल पुरस्कार विजेताहरूबाटै पुरस्कार दिइने परम्परा छ। रसायनशास्त्रमा सन् २०१८ का नोबेल विजेता फ्रान्सेस आर्नोल्ड, भौतिकशास्त्रमा २००१ का विजेता कार्ल वेमन र अर्थशास्त्रमा सन् २००७ का विजेता एरिक मस्किनले आईजी नोबेल पुरस्कार वितरण गर्ने गरेका छन्। विजेताहरूले पाउने ट्रफी चाहिँ कागजको हुन्छ।
त्यो पनि उनीहरूले छापेर आफैँ जोडजाड गरेर मिलाउनुपर्ने हुन्छ। उनीहरूले १० खर्ब जिम्बाबियन डलरका ब्याङ्क नोट पनि पाउँछन्, तर नक्कली। त्यो नोटले के गर्ने भन्ने प्रश्नमा रोबिन हाँस्दै भन्छन्, “हामी सधैँ अनुदान सहायताको खोजीमा हुन्छौँ।” “आईजी नोबेलबारे पहिलो पटक सुन्दा यो ठिक हो या खराब भनेर म निश्चित हुन सकिरहेको थिइनँ। तर मलाई लाग्छ यो एउटा सन्देश हो सुरुमा हाँसो लाग्ने र सोच्न बाध्य बनाउने,” उनले भने।
यही समूहका अर्का सदस्य वन्यजन्तु चिकित्सक पेट मोर्केल भन्छन्, “यसले गैँडाहरूको स्थानान्तरणमै परिवर्तन ल्याइदियो, अझ हात्तीहरूको स्थानान्तरणमा। यस्ता ठूला जीवलाई खुट्टामा झुन्ड्याएर बोक्ने तरिका अहिले स्वीकार्य भएको छ,” उनले भने।यस्तै अनुसन्धान अब भैँसी, जलगैँडा र जिराफमा पनि गर्ने आफूहरूको योजना भएको मोर्केलले सुनाए।
२०२१ को आईजी नोबेल विजेता
जीवविज्ञान: सुसान शूचलाई मानव र बिरालोबीच सञ्चारका लागि प्रयोग हुने विभिन्न आवाजहरूको अध्ययनका लागि ।
पर्यावरण: लेला सटारी र सहकर्मीहरूलाई विभिन्न देशका फुटपाथमा टाँसिएका चुइगममा भएका जीवाणुका विभिन्न प्रजाति पहिचानका लागि आनुवंशिक अध्ययनका लागि ।
रसायनशास्त्र : योर्ग विकर र सहकर्मीहरूलाई सिनेमा हल भित्रको हावाको रासायनिक विश्लेषणबाट दर्शकहरूले फैलाउने दुर्गन्धले सिनेमामा देखाइने हिंसा, यौन, असामाजिक गतिविधि, लागिपदार्थ प्रयोग र अपशब्दहरूसँग सम्बन्धबारे अध्ययनका लागि ।
अर्थशास्त्र: पाव्लो ब्लाभास्त्सकीलाई नेताको मोटोपना त्यो देशमा हुने भ्रष्टाचारको सङ्केत भएको पत्ता लगाएबापत ।
चिकित्साशास्त्र: ओल्के सेम बुलुट र सहकर्मीहरूलाई कामोत्तेजनाको चरमोत्कर्ष डिकन्जेस्टन्ट औषधिजति नै नाकबाट हुने श्वासप्रश्वास सुधार्न प्रभावकारी भएको देखाएकाले ।
शान्ति : एथन बेसेरिस र सहकर्मीहरूलाई मानिसहरूले मुक्का प्रहारबाट अनुहार जोगाउन पाउरोटीको आविष्कार गरेको परिकल्पना परीक्षणका लागि ।
भौतिकशास्त्र : अलेसान्ड्रो कोर्बेटा र सहकर्मीहरूलाई पैदल यात्रीहरू एकअर्काबीच हतपत किन ठोक्किँदैनन् भन्ने परीक्षणका लागि ।
काइनेटिक्स: हिसाशी मुराकामी र सहकर्मीहरूलाई कहिलेकाहीँ पैदल यात्रीहरू किन एक आपसमा ठोक्किन्छन् भन्ने परीक्षणका लागि ।
कीटविज्ञान : जोन मुलेर्नन जुनियर र सहकर्मीहरूलाई पनडुब्बीमा साङ्ला नियन्त्रण गर्ने नयाँ अनुसन्धानका लागि ।
ट्रान्स्पोर्टेशन: रोबिन र्याड्क्लिफ र सहकर्मीहरूलाई गैँडालाई उत्तानो पारेर हवाई ढुवानी गर्दा हुने जोखिमबारे गरेको अनुसन्धानका लागि । बीबीसी विश्स सेवा



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…