विश्व पर्यटन दिवस मनाउन १२ देशका राजदूत पोखरामा


     नेचर न्युज    
     असाेज १० गते २०७८ मा प्रकाशित


पोखरा :  कोेभिड—१९ को कारण थला परेको पर्यटन उद्योगलाई गति दिन विश्व पर्यटन दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रर्णामा १२ देशका राजदूत सहित विभिन्न अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधि आईतबार पोखरा आएका छन् ।

आईतबार दिउँसो पोखरा विमानस्थलमा राजदूत सहतिको टोली आइपुग्दा गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे ।

कोरोनाले थलो परेको पर्यटन उद्योगलाई गति दिन विभिन्न देशका राजदूत लगायतलाई निमन्त्रर्ण गरी विश्व पर्यटन दिवस मनाउन लागेको गण्डकी प्रदेशका पर्यटन मन्त्री ज्ञानेन्द्र पौडेलले जानकारी दिए । पोखरा खुला छ भन्ने सन्देश दिन यो कार्यक्रम महत्वपूर्ण रहेन  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताए ।

कोरोना संक्रमण दर कम हुँदै गएपछि असोज १ गते देखि पोखरामा लकडाउन हटेको छ । बन्द रहेको रात्रिकालीन व्यवसाय क्लव, डान्सबार, दोहोरी साँझ पनि राति साढे १ बजे सम्म खुला भइसकेको छ ।

पोखराका ५० प्रतिशत पर्यटन व्यवसायी र मजदुरले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको र बाँकीलाई लगाउने क्रम चलिरहेकोले पनि पोखरा विश्व पर्यटन बजारमा सुरक्षित छ भन्ने सन्देश दिन विभिन्न देशका राजदूतको पोखरा भ्रमण महत्वपूर्ण रहने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

पर्यटन दिवसमा सहभागी हुन जर्मन, फिनल्याण्ड, कतार, युएई, दक्षिण कोरिया, उत्तर कोरिया, साउदी अरव, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेशियाका राजदूत पोखरा आएको हुन्। यसै गरी सार्क सचिवालय, इसिमोड, युएन, युएनएड, युनेस्को, डब्लुएफपी लगायतका प्रतिनिधि पोखरा आएका छन्। 

दुई दिने पोखरा बसाईका क्रममा पोखराका पर्यटकीय क्षेत्रको भ्रमण र कास्कीकोटमा रहेको शाहबंशीय राजा कुलमण्डन शाहले शासन गरेको ठाउँ हुँदै हाईकिङ गर्ने कार्यक्रम छ । यसैले पनि यस क्षेत्रका हाइकिङ एतिहासिक छ । कुलमण्डनलाई नेपालमा शाह वंशको पहिलो राजा मानिन्छ । अपाङ्गाता मैत्री पदयात्रा मार्ग हुँदै हाइकीङ गरेर कास्कीकोट हुँदै कश्यप तालमा झर्ने कार्यक्रम रहेको छ । यसैले पनि यस क्षेत्रका हाईकिङ एतिहासिक रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताए ।

विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले फेवाताल किनारको सडकमा मिनि सडक महोत्सवको आयोजना गरेको छ । सोमबार साँझ ५ बजे देखि राति १० बजे सम्म सडक महोत्सव हुने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । नेपाली परम्परागत संस्कृति कार्यक्रमको साथमा स्वदेशी तथा विदेशी खानाका परिकार पस्कने कार्यक्रम रहेको उनले बताए । सडक महोत्सवमा लाखे नाच, थारु समुदायको झुम्रा नाच, लगायतका सांस्कृति कार्यक्रम हुने कार्यक्रम रहेको छ ।