
मस्तिष्कका कोषहरू शरीरभरि फैलिएको अक्टोपस रमाइलो, जिज्ञासु र उपद्रवी जीव हो। जसका विशेषताले हामीलाई आश्चर्यमा पार्न सक्छ।दार्शनिक तथा स्कुबा डाइभर पिटर गडफ्रे स्मिफले आफ्नो अडियो पुस्तक अदर माइन्डस: द अक्टोपस एन्ड द इभोलुसन अफ इन्टेलिजेन्ट लाइफमा यसबारे रोचक विवरणहरू समेटेका छन्।
यी अस्थिपञ्जरविहीन प्रजातिको जन्तुबारे केही रमाइला विवरण:
१. मस्तिष्कको कोष ‘हात’मा हुन्छ
अक्टोपसको स्नायु प्रणाली ठूलो हुन्छ। औसत अक्टोपसमा ५० करोड मस्तिष्कका कोषहरू हुन्छन्। त्यसले उनीहरूको मस्तिष्कको शक्ति कुकुरजस्ता साना स्तनधारी जन्तु जत्तिकै हुन्छ। कुकुर, मानव र अरूभन्दा फरक अक्टोपसका अधिकांश मस्तिष्कका कोषहरू दिमागमा नभई हातमा हुन्छन्, त्यो पनि दुई गुणा बढीसम्म। अक्टोपसको प्रत्येक हातमा रहेको चुस्ने ठाउँमा लगभग १०,००० जति न्युरोन हुन्छन् जसले स्वाद र छोएको थाहा पाउँछन्।
२. तालिम दिन सकिन्छ र स्मरणशक्ति हुन्छ

पछिल्ला ७० वर्षमा गरिएका अनुसन्धानले अक्टोपसलाई साधारण काम गराउनका लागि तालिम दिन सकिने देखाएको छ। एउटा प्रयोगमा कैयौँ अक्टोपसहरूलाई लीभरको सहयताले माछाको एउटा टुक्रालाई तान्न लगाइएको थियो। अक्टोपसहरूमाथि भिजुअल परीक्षणहरू पनि गरिएको छ जसमा एउटा आँखा बन्द गरेर र त्यसपछि अर्को बन्द गरेर सम्झन सिकाइएको थियो। त्यो लामो प्रक्रिया थियो तर अक्टोपस परेवासहित कैयौँ जीवभन्दा अब्बल देखिएका थिए।
३. अत्यधिक उपद्र्याहा हुन्छन्

माथि उल्लेख गरिएको लीभरसम्बन्धी अनुसन्धानमा तीन वटा अक्टोपस संलग्न थिए। उनीहरूको नाम अल्बर्ट, बर्ट्रम र चार्ल्स राखिएको थियो।अल्बर्ट र बर्ट्रमले सधैँ एकै खालको व्यवहार गर्थे तर चार्ल्स अलिकति फटाहा थियो र एक पटक उसले लीभरलाई नै भाँचिदियो। त्यतिले पर्याप्त नभएर चार्ल्सले अनुसन्धान गरिरहेको व्यक्तिमाथि नै बेस्सरी पानी छर्किदिएको थियो।
कैयौँ एक्वेरियमहरूमा पनि अक्टोपसहरूले उपद्र्याहा व्यवहार गरेको छन्। त्यसमा विद्युत् आपूर्ति गरिरहेका तार र बत्तीमा तेज गतिले पानी छर्किने काम पनि पर्छन्। न्यूजील्याण्डको युनिभर्सिटी अफ ओटागोमा एउटा अक्टोपस यति उपद्र्याहा भयो कि उसको प्राकृतिक वासस्थानमा छाडिदिनुपर्यो।
४. अक्टोपसले मानिस चिन्छन्

‘बत्ती गएको’ समस्या देखिएको भनिएको न्यूजिल्याण्डको प्रयोगशालामा एउटा अक्टोपसले एक जना ल्याबका कर्मचारीलाई बिनाकुनै कारण नरुचाएको पाइएको थियो। उक्त व्यक्ति नजिकबाट हिँड्दा त्यो अक्टोपसले आधा ग्यालन पानी आफ्नो घाँटीको पछाडिसम्म तान्थिन्।
५. अक्टोपस खेल्न रुचाउँछन्

अक्टोपसहरूका उपद्रो व्यवहारको चर्चा गरिएपनि उनीहरू एकदमै खेल्न रुचाउने जीवहरू हुन्।प्रयोगशालामा कतिपय अक्टोपसहरूले औषधिका शीशीहरूसँग आफ्ना चुच्चाहरूले खेलिरहेका हुन्छन्।
६. पाखुराको सहयताले प्रजनन
अक्टोपसका कैयौँ प्रजातिमा उनीहरूको तेस्रो दायाँ पाखुराको मुन्तिर खाल्टो भए वा नभएको हेरेर ती भाले वा पोथी छुट्टाइन्छ।यदि त्यस्तो खाल्टो छ भने त्यो भाले हो र उनीहरूले प्रजननका लागि त्यसलाई प्रयोग गर्छन्।उनीहरूले आफ्नो पाखुरा पोथी अक्टोपसतर्फ फिँजाउँछन् र यदि उनले स्वीकार गरिन् भने प्रजनन प्रक्रिया अघि बढ्छ।
७. ‘हाइ फाइभ’ अभिवादन

डुलिरहेका बेला अर्को अक्टोपस बसिरहेको ठाउँ नजिकैबाट अघि बढ्नुपर्दा बेला-बेलामा उनीहरू आफ्नो हात एक अर्कासँग ठोक्काउँछन्।अक्टोपसको व्यवहारबारे अध्ययन गरेका प्राध्यापक स्टेफान लिन्कविस्टका अनुसार यी अन्तरक्रियाहरू ‘हाइ फाइभ’ जस्तै हुन्। यसले अक्टोपसहरूलाई एक अर्कालाई पहिचान गर्न मद्दत गर्छ।
८. अक्टोपसको एकभन्दा बढी मुटु हुन्छ

एउटा अक्टोपससँग तीन वटा मुटु हुन्छ। उसको मुटुले प्रवाह गर्ने रगत निलो-हरियो हुन्छ। उनीहरूले फलामलाई नभई तामालाई अक्सिजन बोक्ने कोशिकाको रूपमा प्रयोग गर्छन्। फलामका कारण हाम्रो रगत रातो भएको हो।
९. अक्टोपस डरलाग्दा हुन्छन्
अक्टोपसले रङ्ग र तरिका बदल्न सक्छन्। कुनै आक्रामक भाले अक्टोपसले अर्कोलाई आक्रमण गर्न खोज्यो भने उ अधिकांश अवस्थामा अँध्यारो बनिदिन्छ एवम् समुद्रको पिँधबाट माथि निस्किएर हात फैलाएर आफ्नो आकारलाई बढाउँछ।
१०. अस्थिपञ्जर नहुनुका फाइदा

आफ्नो आँखाको गेडा आकारको प्वालमा अक्टोपस अटाउन सक्छ र आफ्नो शरीरलाई असीमित आकारमा उसले बदल्न सक्छन्। अक्टोपस जस्तो आकार र स्वरूप भएको जीवको शरीरमा अस्थिपञ्जर नहुनु अस्वाभाविक हो। यही विशेषताका कारण सिकारीबाट उसलाई जोखिम छ भने अर्कोतर्फ लुक्न सक्ने क्षमता पनि अक्टोपससँग छ।
(यो सामग्री बीबीसी नेपाली अनलाइनबाट लिइएकाे हाे ।)



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…