
कास्की : माछापुच्छ्रे गाउँपालिकाका टेकबहादुर लामिछाने जंगलमा एक्लै घाँस काट्न जाँदा आक्रमणमा परे। वनको बीचमा एक्कासि गरिएको आक्रमणले उनको घाँटीमा मुटु आएजस्तो भयो । घाँस काट्दै गर्दा झाडीबाट निस्किएको भालुले टोकेपछि बल्ल भालु भन्ने भेउ पाए । अब के गर्ने भन्ने निर्णय गर्न नपाउँदै ५० मिटर गहिरो खोल्सामा खसे । उनीसँगै भालु पनि खोल्सामै पुग्यो।
फेरि भालुले देब्रे हातको औलामा टोक्यो । टेकबहादुरले अर्को हातले ढुंगा समात्न पुगेछन् र त्यही भालुको नाकमा हान्न भ्याए । भालु नाकमा लागेपछि करायो र त्यहाँबाट भाग्यो ।
टेकबहादुर जसोतसो काम्दै घरसम्म पुगे । कसरी पुगे भन्ने बारेमा अझै हेक्का छैन । मृत्युलाई जितेको त्यो दिनमा घर आउने बेलासम्म पछाडिबाट आएर फेरि आक्रमण गर्छ भन्ने लागिरह्यो । घर पुगेपछि बेस्कन रोए। धेरै बेरसम्म कामिरहे ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा उनी मात्र भालुको आक्रमणमा परेका होइनन् । विनोद पुन मगर पनि घाइते बने । उनी निउरो खोज्न भाइसँग वन छिरेका थिए । एक्कासी भालु आयो र अनुहारमा झम्टियो, नाक र आँखाछेउ नंग्राले कोपर्यो । हातमा टोक्यो र हातबाट रगत पनि बग्यो । दाइलाई भालुले मार्ने भयो भनेर भाइले भालुलाई हिर्काए र भालु त्यहाँबाट भाग्यो । विनोद नजिकैको स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्के भने टेक बहादुरलाई उपचारका लागि छोरीहरूले फिस्टेल हस्पिटलसम्म ल्याउनु पर्यो ।

घाइतेको खर्च एक्यापले बेहोर्यो
टेकबहादुर लामिछानेको उपचारमा करिब सत्तरी हजार र विनोद पुन मगरको उपचारमा सत्ताइस हजार खर्च भएको थियो । गाउँघरमा सामान्य किसानीमा आश्रित उनीहरूलाई त्यो रकम निकै थियो । वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्दा उनीहरू पनि लागेका थिए तर तिनै वन्यजन्तुले दुख दिँदा दुखित पनि बने ।
दुवै जनालाई वन्यजन्तुले आक्रमण गर्यो भने राहत पाइन्छ भन्ने थाहा थिएन । तर दुवैले ६ महिनापछि राहत स्वरूप सबै रकम पाउँदा निक्कै खुसी देखिन्थे । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) बमोजिम दुवैलाई राहत स्वरूप अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय पोखराबाट उपलब्ध गराइएको जानकारी संरक्षण अधिकृत अशोक सुवेदीले दिनुभयो ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९, का वडा अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले राहत पाइने बताएपछि आयोजनाको इलाका संरक्षण कार्यालय, ल्वाङमा कागजात पेस गरिएको थियो ।
वडा अध्यक्ष क्षेत्रीले स्वयं आफैले यी दुवै घाइतेहरूलाई राहत रकम लिन आयोजनाको प्रधान कार्यालय पोखरा लिएर आउनुभएको थियो । राहत रकम बुझे पछि दुवैले हर्षित मुद्रामा धन्यवाद दिए । उनीहरूले भने हामी यिनको संरक्षणमा लाग्छौं । यिनीहरूसँग रिसिबी राख्दैनौं । हामीहरू यिनको घरमा गएकोले अलिकति रिसाएका मात्र हुन् ।

यसरी बच्न सकिन्छ भालुको आक्रमणबाट
भालु प्राय मानिसबाट टाढै बस्न रुचाउँछ । तर अकस्मात् भेट हुँदा वा भेट हुँदा भाग्ने ठाउँ नभएमा वा साथमा बच्चा भएको बेला वा सहवासको बेलामा यिनीहरू निक्कै आक्रामक हुने गर्छन् । त्यसले यस्तो बेलामा आक्रमण गर्न सक्छ । तलका उपायहरूले मानिस र यिनका बीचको द्वन्द्व कम गर्न सकिन्छ
- जंगलमा हुँदा सधैँ समूहमा रहौँ र आवाज निकालेर आफू भएको जानकारी दिने, त्यसो गर्दा प्राय भालु टाढैबाट आफ्नो बाटो लाग्छ ।
- जंगलमा सतर्क रही भालुको पाइला, दिशा, खनेको खाल्डो आदि चिन्हहरूमा विशेष ध्यान दिऔँ जसले भालु वरपर भएको वा नभएको जानकारी दिन सक्छ ।
- भालुले आक्रमण गर्दा ओरालो ठाउँ छ भने ओरालोतिर दौडने । भालुको शारीरिक बनावटको कारण ओरालोतिर झर्दा उसलाई अप्ठ्यारो हुन्छ ।
- भालुले आक्रमण गर्न आयो भने लौरी भुईँमा बजार्ने वा भालुले हात उठाएर आउँदा हात वा नाकमा हिर्काउने । यसको नाक अति संवेदनशील हुने भएकोले नाकमा हिर्काउँदा भालु तुरुन्तै भाग्छ ।
- भालु आक्रमण गर्न आयो भने कापे लौरोले भालुको घाँटीमा च्यापेर धकेल्ने ।
- भालुले आक्रमण गर्न आउने अवस्थामा भाग्यो भने झन् लखेट्छ । त्यसैले ऊसँग प्रतिकार गर्ने ।
- यदि तपाईँले भालु देख्नुभयो तर भालुले देखेको छैन भने भालुले थाहा नपाउने गरि पछि हटी उसलाई आफ्नो बाटो जान दिऔँ ।
- भालुको आक्रमण गर्न आए नभागौँ बरु वरिपरि पातलो रुख भए त्यसमा चढौँ, छैन भने दुवै हातले आफ्नो टाउको र घाँटीको भाग छोपी घोप्टो परेर जमिनमा सुतौँ । पातलो रुखमा भालुलाई चढ्न गाह्रो हुन्छ ।
भालु जोगाएर के हुन्छ ?
- किरा तथा धमिराहरूको संख्या नियन्त्रण गर्दछ
- रुख बिरुवाको बिउ एक ठाउँ बाट अर्को ठाउँमा (फलफूल खाएर) पुर्याउन मद्दत गर्दछ ।
- सुकेका तथा ढलेका रुखहरूलाई टुक्र्याएर वनलाई स्वस्थ बनाउँछन्
- वन्यजन्तुमा आधारित पर्यटनमा आकर्षण थप्छ ।
- आहारा प्रजातिको संख्या नियन्त्रण गर्दछ




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …