माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिमा फेरिन सक्छ : विज्ञ


     नेचर न्युज    
     मंसिर २६ गते २०८० मा प्रकाशित


हिमाल यहि गतिमा पग्लिँदै गए माउन्टेन क्लिाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्ने चिन्ता एक कार्यक्रममा विज्ञहरुले व्यक्त गरेका छन् । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा आयोजित हिमाल किन कालो हुँदै छ र के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ भन्ने र्शीर्षकको बहसमा सहभागी विज्ञले हिमाल कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

विश्वव्यापी तापमान वृद्धिले हिमालको हिउँ पग्लिँदै गए हिमाल आरोहण कुनै दिन कालापथ्थर आरोहढाको रुपमा फेरिन सक्ने विश्व वन्यजन्तु कोष नेपालका प्रमुख एवं संरक्षण विद डा घनश्याम गुरुङले बताए । यहि गतिमा हिउँ पग्लँदै गए केही वर्षभित्रै हिमाल कालापत्थरमा परिणत हुने उनले बताए । यसैले जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प नरहेको उनले बताए ।
यसरी हिमालको हिउँ पग्लनुमा पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण रहेको डा गुरु ले बताए ।

कार्बन उत्सवनमा नेपालको योगदान छैन तर नेपालले यसको प्रत्यक्ष असर भोगिरहेको छ । यसको असरले हिमाल कालापत्थरमा परिणत हुँदै गएको मात्र होइन खडेरी, अतिवृष्टिका कारण आउने बाढी पहिरो लगायतका प्राकृतिक विपद् नेपालले भोग्दै आएको छ ।
जलवायु परिवर्तनमा नेपालका हात नभए पनि चुप लागेर बस्न भने नहुने डा गुरु बताउँछन् । जलवायु परिवर्तनमा विकसित देशहरु दोषी छन् । विकसित देशका गतिविधिले नेपाल र नेपाल जस्ता देशमा पर्न गएको क्षतिको बारेमा अन्तराष्टिय फोरममा दरिलो संग आवाज उठाएर क्षतिपूर्तिको व्यवस्था गर्न दवाव दिनु पर्ने छ ।

कार्यक्रममा अर्का वक्ता वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई जलवायु संकट भन्नु पर्ने बेला आएको बताए । जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रुपमा मात्र नहेरेर अर्थ राजनीतिक पाटोबाट पनि हेर्नु पर्ने उनले बताए । पृथ्वीको तापमान वृद्धि अबका केही दशकमा हिमालहरु पग्लीएर कालापत्थरमा परिणत मात्र हुने होइन पानीको संकट पनि उत्पन्न हुने, पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने उनले बताए ।

जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दुकुश क्षेत्रकै हिमाल सुख्खा बन्दै गएको सुनाइन् । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाने तर नघट्ने भएकोले अनुकूलन हुनुबाहेक अर्को विकल्प नरहेको उनले बताइन् ।
पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको बताउँदै यसको उदाहरण यसै वर्ष मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी यसका उदाहरण रहेको पनि महर्जनले सुनाइन् ।

जलवायु परिवर्तको कारण स्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको तर यस विषयमा बहस कम हुने गरेको उनले बताइनु । जलवायु परिवर्तनका कारण नयाँ नयाँ जनस्वास्थ्यका समस्या आएको र रोग विस्तार हुँदै गएको उनले सुनाइन् ।