
पोखरा : लाटोकोसेरो तथा हुचिल उत्सव २०८० पर्वतको जलजला गाउँपालिका ५ लेख फाँट लाप्रेमा हुने भएको छ । माघको १९ र २० गते १४ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव हुन लागेको हो ।
प्रकृतिका साथी नामक संस्थाले देशमा हुने विभिन्न महोत्सव भन्दा पृथक् चरा संरक्षण उत्सव गर्दै आएको हो । उत्सवमा लाटोकोसेरो चराको संरक्षणका साथै अन्य वन्यजन्तु, वनस्पतिको संरक्षणका विषयमा छलफल, बहस, सांस्कृतिक कार्यक्रम मार्फत संरक्षण सन्देश दिनुको साथै स्थानीय युवा, आमा, बुवाहरुलाई लाटोकोसेरो लगायत वन्यजन्तुको महत्त्व र वन्यजन्तु नहुँदा मानव जीवनमा पर्ने सङ्कटका विषयमा सचेतना मूलक कार्यक्रम हुने गर्दछ ।
उत्सवमा चरा संरक्षण सँगै पर्यापर्यटनका कुरा हुन्छन् । ग्रामीण पर्यटन प्रवर्द्धन गर्न उत्सव केन्द्रित हुन्छ । किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणको सन्देश दिन माघको २० र २१ गते दुई दिने संरक्षण उत्सवको यति बेला आयोजक र स्थानीयलाई चटारो छ । मुसाहरूको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने किसानको साथी लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार, वासस्थान लोपहुनु लगायतका कारण सङ्कटमा पर्दै गएपछि नागरिक स्तरबाटै संरक्षणमा लाग्न प्रेरित गर्न उत्सवको आयोजना गरिएको आयोजक संस्था प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए ।

फाइलल तस्बिर : इनेचर
लाटोकोसेरोले मुसा मात्र होइन किरा फट्याङ्ग्रा, सर्प, भ्यागुता खाएर सङ्ख्या नियन्त्रण गर्दछ । एक परिवार लाटोकोसेरो (भाले,पोथी र बच्चाहरू) ले एक सिजनमा ३ हजार वटा सम्म मुसाहरू खाएर मुसाको सङ्ख्या नियन्त्रण गर्ने आचार्यले जानकारी दिए । पर्यावरणलाई सन्तुलित राख्न मात्र होइन यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने सङ्केत पनि गर्दछ । पछिल्लो समयमा विभिन्न प्रजातिका चराको अवलोकन गर्न मात्रै पनि विदेशी पर्यटक आउने भएकोले चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जीविकोपार्जनमा समेत सहयोग पुग्ने आयोजक संस्था प्रकृतिका साथीहरू नामक संस्थाले जनाएको छ ।
लाटोकोसेरोको आवाजले साँझ परेको तथा बिहान भएको सङ्केत समेत गर्दछ । धार्मिक हिसाबले पनि लाटोकोसेरोको महात्व रहेको छ । लाटोकोसेरोलाई देवी लक्ष्मीको वाहन मानिन्छ । नेपालमा यिनीहरूको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । लाटोकोसेरोको सङ्ख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातिहरू अभिलेख गरिसकिएको छ । जसमध्ये ९ प्रजातिहरू नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एक प्रजातिलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन । विश्वमा करिब २२५ प्रजातिका लाटोकोेसेराहरु पाइन्छन् ।
यस किसिमको संरक्षण उत्सव नेपालको साथै अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ । उत्सव सुरु हुनु अघि स्थानीय विद्यालयहरूमा लाटोकोसेरो चेतना शिविरहरू सञ्चालन हुने कार्यक्रम छ । उत्सवको समयमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरा सम्बन्धी जानकारी मूलक म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाचको प्रदर्शनी गरिने छ । उत्सवमा स्थानीय लोपोन्मुख खेलको प्रदर्शनी समेत गरिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । नेपालमा पाइने लाटोकोसेरो र हुचील अध्ययन र संरक्षणका लागि नेपाल सरकारले १० वर्षे लाटोकोसेरो संरक्षण कार्य योजना २०७७ मा स्वीकृत समेत गरेको छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …