असारे रोपाइँ महोत्सवमा हिलो खेलेर रमाए पर्यटक


     नेचर न्युज    
     असार १६ गते २०८१ मा प्रकाशित


पोखरामा भएको असारे रोपाइँ महोत्सवमा पर्यटक हिलो खेलेर रमाएका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको अायोजना पोखरा पर्यटन परिषद् जनाएको छ ।

 रोपाइँ महोत्सवमा पर्यटकहरूले हलो जोत्ने, साउने देखि हिलोले छ्यापाछ्याप गरेर रमाएका छन् । महोत्सवमा सहभागी पर्यटकहरूले हिलोमा भएको भलिबल प्रतियोगिता, डोरितान्ने प्रतियोगिता, दौड लगायत प्रतियोगितामा सहभागी भएर विभिन्न पुरस्कार पनि जिते । परम्परागत रुपमा गोरुको प्रयोग गरेर गरिएको कृषि पहिलो पटक देख्दा नयाँ अनुभव लिएको रोपाइँ महोत्सवमा सहभागी अमेरिकाकी पर्यटक जोजीले सुनाइन् । महोत्सवमा सहभागी पर्यटकले गीत, सङ्गीतको साथमा परम्परागत रुपमा भएको रोपाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

रोपाइँ महोत्सवमा सहभागीले सरकारले आफैले सिँचाइ सुविधा पु¥याएका कृषि भूमि संरक्षण गर्न नसक्दा कृषिमा परनिर्भरता बढ्दै गएको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिमा आत्मर्निभर हुन कृषि भूमि जोगाउन र वैज्ञानिक खेती प्रणालीमा जोड दिए । आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कृषि पर्यटनको रुपमा पर्यटकलाई आकर्षण गर्न रोपाइँ महोत्सव गर्दै आएको सुनाए । पर्यटकलाई आकर्षण गर्न कृषि, खेलकुद, चरा पर्यटन जस्ता गतिविधि नियमित सञ्चालन गर्नु पर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताए ।

नेपाली परम्परागत कृषि प्रणालीको माध्यमबाट पर्यटक आकर्षण गर्न रोपाइँ महोत्सवको आयोजना गरिएको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए । पोखराका सिँचाइ सुविधा पुगेका कृषि भूमि जोगाउन नसक्दा खेतमा बस्ती बसेका छन् । यसैले प्रत्येक वर्ष खाद्यान्न उत्पादनमा कमी हुँदै र परनिर्भरता बढ्दै गएको छ । पोखरामा ११ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको र ३९ हजार ९ सय ६० मेट्रिक टन धान उत्पादन हुने पोखरा महानगरपालिका कृषि महाशाखाको तथ्याङ्क छ ।

कास्की जिल्लामा भने १६ हजार २ सय २० हेक्टरमा धान खेती हुने र ६१ हजार ४ सय ७४ मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ ।पोखराका फेवाताल, सेती नदीमा बाँध बाँधेर सिँचाइ पु¥याइएका खेतहरूमा बस्ती बसेकोले उत्पादन घट्दो क्रममा छ । पछिल्लो समयमा फेवा सिमसार क्षेत्रमा रहेका खेत पनि प्लटिङ गरेर बस्ती बस्ने क्रम बढेको छ । प्रत्येक वर्ष धान उत्पादन घट्दो क्रममा रहेको भए पनि पोखरामा कति धान लगायत खाद्यान्न भारतबाट आयात हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन ।