
पोखरा : कोदो बालीमा देखिएको जरा तथा फेद कुहिने र पहेँलो हुँदै जाने रोगका कारण पोखरा २३ तल्लो सिधानेमा कोदो उत्पादन ७० प्रतिशत बढी घटेको स्थानीय किसानले बाएका छन् । सिधाने पोखराको कोदो बालीका लागि पकेट क्षेत्र मानिन्छ । पकेट क्षेत्रमै रोगका कारण कोदो उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् ।
कोदोमा रोगको प्रकोप देखिएपछि पोखरा महानगरपालिकाको प्राविधिक टिमले नमुना ल्याएर बाली संरक्षण प्रयोग शालामा परीक्षण गर्दा जरा तथा फेद कुहिने रोग पुष्टि भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । बाला निस्कने बेलामा यो समस्या देखिएपछि किसान चिन्तित छन् । तल्लो सिधानेमा मात्रै ४५ रोपनी बढी क्षेत्रफलमा कोदो खेती गरिँदै आएको छ ।
यहाँ ४५ देखि ५० मुरी सम्म कोदो उत्पादन हुने गरेकोमा रोगका कारण उत्पादन ७० प्रतिशत बढी सम्म घटेको वडा स्तरीय कृषि सञ्जाल २३ का सचिव ईश्वर घलेले बताए । ९ रोपनी क्षेत्रफलमा कोदो खेती गर्दा १० मुरी सम्म कोदो हुनेमा पछिल्लो समयमा कोदोमा देखिएको रोगका कारण अहिले बिउँ पनि नआउने अवस्था आएको स्थानीय किसान दुर्गा गुरुङले बताइन् । कोदोमा यस्तो रोग माथिल्लो सिधाने लगायतका क्षेत्रमा पनि देखिएको वडा स्तरीय कृषि सञ्जाल २३ का अध्यक्ष लोकबहादुर गुरुङले बताए ।
यो रोग नियन्त्रण विषादी प्रयोग नगरी पनि गर्न सक्ने भएकोले कोदो रोप्दा दूरी मिलाउने, माटो परीक्षणको आधारमा कृषि चुनको प्रयोग गर्ने, प्राङ्गारिक मलको मात्रा बढाउन किसानलाई सुझाएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । केही स्थानमा यो वर्ष परीक्षणको रुपमा बेभिस्टिन प्रयोग गर्न लागिएको पनि उनले बताए । कोदोमा देखिएको समस्याको थप अध्ययन गर्न आउँदो वर्ष १ रोपनी क्षेत्रमा प्रविधि प्रदर्शन गर्ने र प्राविधिक ज्ञान स्थानीय किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम ल्याइने पनि उनले सुनाए ।
यस कार्यक्रमकालागि स्थानीय कृषक समूह, सञ्जाल र कृषि प्राविधिक बिच छलफल भइरहेको उनले बताए । यस क्षेत्र फेवा तालको मुहान (फेवा जलाधार क्षेत्रमा ) मा पर्ने भएकोले वर्षौँ देखि कोदो खेती गरेर यहाँका किसानले कोदोमा आत्मनिर्भर हुने मात्र होइन भूक्षय रोक्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।नेपालमा कोदो बालीको क्षेत्रफल बर्सेनि घट्दो छ । देशको कुल खाद्यान्न बालीहरूको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने तथ्याङ्क छ । कोदोले ओगटेको कुल क्षेत्रफल मध्ये ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा मात्र पर्छ ।

नेपालको तराई देखि समुन्द्री सतहबाट ३१ सय मिटर सम्मको उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ । कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । परम्परागत रुपमा कोदोबाट ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग गरिँदै आएको पाइन्छ । नेपालका आदिवासी जनजाति समुदायमा कोदोको सांस्कृतिक महत्त्व पनि रहेको छ । कोदो क्याल्सियम र फस्फोरसको धनी स्रोत भएकोले गर्भवती महिलाहरुकालागि यो उत्तम भोजन मानिन्छ । कोदो मधुमेह रोगीहरूका लागि फाइदा जनक हुने पनि कडरियाले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…