
पोखरा : पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समी लगायतका रुख काट्ने क्रम बढेको भन्दै पोखराका संरक्षण कर्मीले रुख काट्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । पछिल्लो समयमा महायज्ञको नाममा पोखरा १३ र १४ का ऐतिहासिक चौताराका वर, पिपल, समीका रुख काटीएको थियो ।
पोखरामा बिहीबार बसेको संरक्षणकर्मीको भेलाले पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति चिन्ता व्यक्त गर्दै कारबाहीको माग गरेका हुन् । जैविक विविधताकालागि महत्वपूर्ण मानिने वर, पिपल, समी, आँपका रुख मास्ने उद्देश्यले ठुटो बनाएर काटीएको प्रति संरक्षणकर्मीले चिन्त व्यक्त गरेका हुन् । ऐतिहासिक , संस्कृतिक र धार्मिक महत्वका वर, पिपल, समीका रुख धर्मको नाममा काटिनु थप चिन्ताको विषय भएको पनि सहभागीले बताएका छन् ।

विकास निर्माणका नाममा, चराले फोहोर गरेका नाममा पनि ऐतिहासिक चौताराका वर, पिपल, समीका रुख काटिने गरेको संरक्षणकर्मी हेमन्त ढकालले बताए । यसरी वर, पिपल, समीका रुख काटिदा धर्म संस्कृति प्रतिको प्रहारको साथै जैविक विविधता माथी पनि एकै चोटी प्रहार हुने गरेको उनले बताए । वर, पिपल, समी विभिन्न प्रजातिका चराहरुका बासस्थान हुनुको साथै ती रुखहरुमा फल्ने साना साना दाना चराहरुका आहारा पनि रहेको उनले सुनाए । विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमातिको दोहन बढ्दै गएको संरक्षणकर्मी डा अनिल सुवेदीले बताए । पोखराका ऐतिहासिक रुख काटिनु गम्भीर भएको पनि उनले बताए ।
धर्मका नाममा रुख काटिने थप चिन्ताको विषय भएको भन्दै रुख काट्नेलाई कानुनआनुसार कारबाही गर्नु पर्ने पनि सहभागीले जोड दिए । पछिल्लो समयमा बालयोगेश्वर विजय कृष्णमूर्तीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले वैशाख १ गते देखि ४५ दिनसम्म पोखरामा कोटीहोम लगाउने भन्दै वर, पिपल र समीका रुख नपलाउने गरी ठुटो बनाएपछि संरक्षणकर्मी थप चिन्तित भएका हुन् । रुख काटिएको सार्वजनिक भएर आलोचना भएपछि पोखरा महानगरपालिकाले फाउण्डेसनले जम्मा गरेका काठ जफत गरेपनि कानुनी कारबाही भने भएको छैन् । रुख काट्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने संरक्षणकर्मीले माग गरेका हुन् ।

रुख काटिएको घटना आलोचना भएपछि कोटीहोम गर्न पाउने कि नपाउने भन्नेमा पोखरामा मत विभाजन भएरहेको अवस्थामा उच्च अदालत पोखराले बिहीबार पोखराको वाराहीघाटस्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश जारी गरेको छ । पोखराका मेयर धनराज आचार्यले कोटीहोम गर्न नदिने बताइरहेका थिए । धर्मगुरु भनिने विजय कृष्णमूर्तीले भने सांस्कृतिक, धार्मिक र पर्यावरणीय महत्वका वर, पिपल, समीका रुख काटिएकोमा क्षमा माग्नुको साटो धर्मका नाममा अधर्म गर्न पनि तयार रहेको पत्रकार सम्मेलन गदैै बताएका थिए ।
पोखराका ५६ प्रतिशत चौतारा मासिए
२०३५ सालमा तत्कालिन नगरविकासले गरेको गणनामा पोखराका त्यतीबेलाका १८ वटा वडामा ६३२ वटा चौतारा रहेको पृथ्वीनारायण क्याम्पस पोखराका बनस्पती शास्त्रका उपप्रध्यापक कल्याण पन्तले बताए । २०५८ सालमा आइपुग्दा २७८ वटा चौताराहरु बिभिन्न बहानामा मासिएकाे उनले बताए । २०३५ बाट २०५८ साल सम्म ३५४ वटा मात्र बाँकी रहेको पन्तले सुनाए । पछिल्लो समयमा कति चौतारा छन् भन्ने एकिन तथ्याङ नरहेको पनि उनले बताए ।
चौतारा मासिनुमा जनप्रतिनिधि पनि जिम्मेवार रहेको उनले बताए । धार्मिक अनुष्टानको नाममा पनि चौताराका रुख काटिनु झन चिन्ताको विषय भएको उनले बताए । यसरी ऐतिहासिक रुख काट्नेलाई कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…