चोरी सिकार नियन्त्रण गर्न उच्च हिमाली क्षेत्रमा ड्रोनबाट निगरानी


     नेचर न्युज    
     जेठ ४ गते २०८३ मा प्रकाशित


चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ ।  संरक्षण क्षेत्रको जोमसोम स्थित भौगोलिक रूपमा विकट हिमाली क्षेत्रका रानीवन, भोगम्बो, नमखु खर्क, भ्रप्सो खर्क लगायत आसपासका उच्च हिमाली क्षेत्रहरूमा ड्रोनको माध्यमबाट  वन गस्ती गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोम कार्यालयले जनाएको छ। 


मानव उपस्थिति न्यून भएका यी क्षेत्रहरूमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न, वन तथा वन्यजन्तुको अनुगमन गर्न र पर्यावरणीय संरक्षणलाई थप सबल बनाउन आधुनिक प्रविधि युक्त गस्ती सञ्चालन गरिएको कार्यालयले जनाएको छ । यसरी ड्रोनको प्रयोगगरी उच्च हिमाली क्षेत्रमा वन गस्ती गर्दा अवैध रूपमा हुन सक्ने चोरी सिकार भइरहेको देखिए, शङ्कास्पद गतिविधि देखिए नियन्त्रण र अनुसन्धान गर्न सहयोगी हुने गरी प्रविधिको प्रयोग गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । 

अन्नपूर्ण संरक्षण क्षेत्रको उच्च हिमाली क्षेत्रमा चोरी सिकार नियन्त्रणकालागि ड्रोनको प्रयोग गरी निगरानी गरिदै ।
तस्बिर : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ।


जटिल भौगोलिक क्षेत्र भएका हिमाली क्षेत्रमा चोरी सिकार नियन्त्रणकालागि  आधुनिक प्रविधिको प्रयोग गरेर गस्ती गर्ने कार्य निकै प्रभावकारी हुने भएकोले यसको प्रयोगलाई निरन्तर दिएर बेला बेलामा अनुगमन गरिने आयोजनाका अधिकारीले बताएका छन् ।