‘अन्नपूर्णको स्याहार’ नेपाली संस्करण पोखरामा लोकार्पण


     नेचर न्युज    
     जेठ २४ गते २०८३ मा प्रकाशित


स्वर्गीय डा। चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘ऋबचष्लन ायच तजभ ब्ललबउगचलब’ को नेपाली संस्करण ‘अन्नपूर्णको स्याहार’ पोखरामा लोकार्पण गरिएको छ। पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना संग्रहालयमा आयोजित कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्रका संरक्षणकर्मी, विभिन्न गाउँपालिका प्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका नयाँ तथा पुराना कर्मचारी, समुदायका अगुवा तथा शुभचिन्तकको उपस्थितिमा पुस्तक लोकार्पण भएको हो । ्

कार्यक्रममा पूर्व संघीय सांसद तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङले स्वर्गीय डा। चन्द्र गुरुङको योगदान अझै पर्याप्त रूपमा चिनिन र सम्मानित हुन नसकेको बताए । पञ्चासेमा भेटिएको सुनाखरीको नामसमेत स्व। चन्द्र प्रसाद गुरुङको नाममा राखिएको स्मरण गर्दै भन्नुभयो, “हामीले उहाँलाई अझै राम्रोसँग चिन्न र उचित सम्मान दिन सकेका छैनौँ। डा। गुरुङले हाम्रो क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्रको अवधारणा र सुरुवात नदिएको भए हामी संरक्षणका हिसाबले धेरै पछि पर्थ्यौँ।” उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा। रबिन कडरियाले आज पनि डा। गुरुङले देखाएको बाटोमै अघि बढिरहेको बताए । समुदायमा आधारित संरक्षण, स्थानीय सहभागिता, प्राकृतिक स्रोतको दिगो उपयोग र जैविक विविधताको संरक्षणजस्ता अवधारणाहरू डा। गुरुङले देखाएको सोचकै निरन्तरता रहेको पनि उनले बताए ।

कार्यक्रममा डा। रोशन शेरचनले करिब चार दशकअघि समुदायसँगै संरक्षण सम्भव र दिगो हुन्छ भन्ने सपना देख्ने व्यक्तिको पुस्तक र सम्झनासँग जोडिन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताए । डा। गुरुङको सोच समयभन्दा निकै अगाडि रहेको उल्लेख गर्दै समुदायलाई केन्द्रमा राखेर संरक्षण गर्ने अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए ।

मादी गाउँपालिकाका अध्यक्ष देवी जंग गुरुङले स्वर्गीय डा। चन्द्र गुरुङले देखेको संरक्षणको सपना अझै पूर्ण रूपमा मूर्त रूप लिन बाँकी रहेको बताए । चार दशकअघि गुरुङ समुदाय शिकार र प्राकृतिक स्रोतमा धेरै निर्भर रहेको समयमा पनि समुदायलाई संरक्षणतर्फ प्रेरित गर्नु आफैँमा महत्वपूणै रहेको उनले बताए । डा। गुरुङको सोचलाई स्थानीय सरकार, संरक्षण संस्था र समुदायले मिलेर थप अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

संरक्षणकर्मी डा। हुम बहादुर गुरुङले यो पुस्तक नेपाली भाषामा प्रकाशित हुनु संरक्षण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको जानकारी र्दिए । करिब १४ वर्षअघि अस्ट्रेलियाका बोब रेमले उपलब्ध गराएको पाण्डुलिपि पहिले अंग्रेजी र अहिले नेपाली पुस्तकका रूपमा प्रकाशित हुन सकेकोमा खुसी व्यक्त गरे । “पहिले अंग्रेजीमा र अहिले नेपालीमा यो पुस्तक प्रकाशित गर्न पाउँदा डा। चन्द्र गुरुङको सपना पूरा गर्न थोरै भए पनि योगदान गरेको महसुस भएको छ,” उनले भने । घान्द्रुकबाट सुरु भएको समुदायमा आधारित संरक्षणको अवधारणा नेपालमा मात्रै होइन, संसारमै नमुना बनेको सुन्दा गौरवलागेको पनि उनले बताए ।

पुस्तकमा अन्नपूर्ण संरक्षण क्षेत्रको प्रारम्भिक सोच, अध्ययन, समुदायसँगको सहकार्य र संरक्षणका आधारभूत मान्यताहरू समेटिएका छन्। करिब छ महिनाको अध्ययनपछि डा। चन्द्र गुरुङसहितको टोलीले दिएको सुझावका आधारमा नेपाल सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सुरुवात गरेको थियो। पृथ्वी नारायण क्याम्पस परिसरमै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालय सुरु भएको सन्दर्भमा पुस्तक लोकार्पण कार्यक्रम हुनुलाई थप ऐतिहासिक मानिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सुरुवाती चरणमा यही परिसरबाट काम गर्नुभएका पूर्ण जंग कुँवरले डा। गुरुङसँग काम गर्दाका अनुभव स्मरण गरे । डा। गुरुङ सरल, सहज र कर्मचारीप्रति अत्यन्त सहयोगी स्वभावका व्यक्तित्व भएको बताउँदै सबैले उहाँलाई सम्मानका साथ हेर्ने गरेको उल्लेख गरे । उहाँले आफ्नो घर नजिकै भए पनि कामका कारण धेरै रात यही कार्यालय परिसरमै बिताएको स्मरण गरे । डा। गुरुङको समुदायलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने सोच महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रमका सहभागीहरूले डा। चन्द्र गुरुङको योगदान अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापना र विकासमा मात्र सीमित नभई नेपालमा समुदायमा आधारित संरक्षणको सोचलाई संस्थागत गर्नसमेत महत्वपूर्ण रहेको बताए। घुन्सा हेलिकप्टर दुर्घटनामा जीवन गुमाउनु अघिसम्म पनि उहाँ संरक्षण अभियानमा सक्रिय रहनुभएको थियो।

चन्द्र गुरुङ संरक्षण फाउन्डेसनकी अध्यक्ष शिखा गुरुङ खेतानले पुस्तक बिक्रीबाट प्राप्त रकम युवा संरक्षणकर्मीको प्रशिक्षण, मेन्टरशिप तथा नयाँ पुस्तालाई संरक्षण क्षेत्रमा जोड्ने कार्यमा प्रयोग भइरहेको जानकारी दिइन् । सहभागीहरूले डा। चन्द्र गुरुङको सपना र योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता प्रकाशन, संवाद र संरक्षण अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उक्त पुस्तकको अनुवाद तीर्थ गुरुङले गर्नुभएको हो भने कार्यक्रमको सहजीकरण कवि रमेश श्रेष्ठले गरेका थिए ।