बाघ गणनाको नतिजा सार्वजनिक : संख्या बढेर ४२९ पुग्यो


     नेचर न्युज    
     श्रावण १३ गते २०८३ मा प्रकाशित


काठमाडौं : नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाल सरकारले बुधबार सार्वजनिक गरेको राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ अनुसार नेपालमा जंगली पाटेबाघको अनुमानित संख्या ४२९ पुगेको छ।

सन् २०२२ मा ३५५ बाघ रहेकोमा पछिल्लो चार वर्षमा ७४ वटा (करिब २०.८ प्रतिशत) ले वृद्धि भएको हो। सन् २००९ मा १२१ बाघ रहेको नेपालले करिब डेढ दशकमा बाघको संख्या तीन गुणाभन्दा बढी पुर्‍याएर विश्वमै उदाहरणीय संरक्षण सफलता हासिल गरेको छ। विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ को नतिजा सार्वजनिक गरेकी हुन्।

गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले देशकै सबैभन्दा ठूलो बाघको बासस्थानका रूपमा आफ्नो स्थान कायम राखेको छ। नेपालले सन् २०१० मा विश्व समुदायसमक्ष गरेको सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सफलतापूर्वक पूरा गर्दै सन् २०२२ सम्म वयस्क बाघको संख्या ३५५ पुर्‍याएको थियो। पछिल्लो गणनाले नेपालले त्यो उपलब्धिलाई अझ अघि बढाउँदै संरक्षणमा निरन्तर प्रगति गरिरहेको पुष्टि गरेको छ। चोरीशिकार नियन्त्रण, बाघको वासस्थान संरक्षण, आहारा प्रजातिको व्यवस्थापन तथा स्थानीय समुदायको सहभागिताले नेपाललाई बाघ संरक्षणको विश्वव्यापी सफल नमुनाका रूपमा स्थापित गरेको छ।

बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व पनि बढ्यो

तर बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व पनि फेरि चर्किन थालेको छ। पछिल्लो एक वर्षमै बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ भने पछिल्लो आठ वर्षमा मुलुकभर ८५ जनाले ज्यान गुमाएका छन्। संरक्षण क्षेत्र तथा वन आसपास बसोबास गर्ने गरिब र सीमान्तकृत समुदाय बाघको आक्रमणबाट सबैभन्दा बढी प्रभावित भइरहेका छन्। बाघको वासस्थान विस्तार, बाघको संख्या वृद्धि तथा मानव गतिविधि र वन्यजन्तुको बासस्थानबीच बढ्दो अन्तरक्रियाका कारण द्वन्द्वका घटना बढ्दै गएको संरक्षण विज्ञहरूको भनाइ छ।

विज्ञहरूका अनुसार अबको संरक्षण नीति बाघको संख्या वृद्धि गर्नुमा मात्र सीमित रहनु हुँदैन। बाघबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने स्पष्ट लक्ष्यसहित संरक्षण कार्यक्रम अघि बढाउन आवश्यक छ। स्थानीय समुदायलाई संरक्षणको साझेदार बनाउने, वैकल्पिक आयआर्जनका अवसर सिर्जना गर्ने, सुरक्षित पशुपालन, सचेतना अभिवृद्धि, व्यवहार परिवर्तन तथा द्वन्द्व जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।
यससँगै बाघ संरक्षणका लागि वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षण, चोरीशिकार नियन्त्रण, जैविक मार्गको संरक्षण, द्रुत उद्धार तथा उद्धार टोलीको क्षमता अभिवृद्धि, र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनु आवश्यक देखिएको छ। संरक्षणको प्रत्यक्ष असर भोग्ने समुदायलाई राहत, बीमा, शीघ्र क्षतिपूर्ति तथा दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमसँग जोड्न सके मात्र संरक्षण दिगो बन्ने विज्ञहरूको धारणा छ।

बाघ संरक्षणले नेपालको जैविक विविधता, पारिस्थितिकीय सन्तुलन तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। तर संरक्षणको सफलतासँगै बढ्दै गएको मानव–बाघ द्वन्द्वले नयाँ व्यवस्थापकीय चुनौती पनि थपेको छ। त्यसैले अबको संरक्षण रणनीति ‘बाघ पनि सुरक्षित, मानव पनि सुरक्षित’ भन्ने सिद्धान्तमा आधारित हुनुपर्ने आवश्यकता अझ बलियो रूपमा महसुस गरिएको छ।