
काठमाडौंः विश्वमै दुर्लभ ध्वाँसे चितुवाको संरक्षणका लागि विद्यार्थीहरूले जनचेतना अभिवृद्धि गर्दै यसको सम्भावित वासस्थान क्षेत्रबाट प्लास्टिकजन्य फोहोर सङ्कलन गरेका छन्।
भक्तपुर बहुमुखी क्याम्पसको स्नातक तह विज्ञान संकायका दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले शनिबार शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन क्षेत्रमा पर्ने फूलबारी गेटदेखि जामाचोसम्म पदयात्रा गरी पदमार्गमा छरिएको प्लास्टिकजन्य फोहोर सङ्कलन गरेका थिए। पदयात्राका क्रममा ध्वाँसे चितुवा संरक्षणसम्बन्धी जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको थियो ।
नवौँ अन्तर्राष्ट्रिय ध्वाँसे चितुवा दिवसको पूर्वसन्ध्यामा भक्तपुर बहुमुखी क्याम्पसले नेपालमा ध्वाँसे चितुवा तथा अन्य साना बिराला प्रजातिको अनुसन्धान र संरक्षणमा कार्यरत अग्रणी संस्था थर्ड पोल कन्जरभेन्सीसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो। हरेक वर्ष अगस्ट ४ मा मनाइने ध्वाँसे चितुवा दिवसले दक्षिण तथा दक्षिण पूर्वी एसियाका घना वनमा पाइने यस दुर्लभ र रहस्यमय वन्यजन्तुको संरक्षणप्रति विश्वको ध्यानाकर्षण गराउँछ। शरीरमा बादलका आकृतिजस्ता ठूला धब्बा, लामो पुच्छर र रुख चढ्न सक्ने अद्भुत क्षमताका कारण ध्वाँसे चितुवा अन्य बिरालो प्रजातिभन्दा विशिष्ट मानिन्छ।

नेपालमा यो अत्यन्त दुर्लभ वन्यजन्तुमध्ये एक हो। यसको उपस्थिति मुख्यतः पूर्वी तथा मध्य पहाडी भूभागका घना वन क्षेत्रमा रहेको मानिन्छ। अत्यन्त लजालु, एकान्तप्रिय तथा मुख्यतः राति सक्रिय हुने भएकाले यसको प्रत्यक्ष अवलोकन निकै कठिन हुन्छ। यही कारणले यसको वास्तविक सङ्ख्या, वितरण र वासस्थानबारे अझै पर्याप्त जानकारी उपलब्ध छैन। यसको संरक्षणका लागि वैज्ञानिक अध्ययन र नियमित अनुगमनको आवश्यकता बढ्दो छ।
ध्वाँसे चितुवाको जीवनशैली आफैँमा रोचक छ। बलिया खुट्टा, लचिलो शरीर र लामो पुच्छरले यसलाई रुखका हाँगामा सहज रूपमा आवतजावत गर्न सहयोग गर्छ। अन्य धेरै ठूला बिरालोको तुलनामा यो उत्कृष्ट रुख आरोही हो। यसले वनको भुइँमा मात्र नभई रुखको माथिल्लो तहमा समेत आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा बिताउँछ। बाँदरलगायतका प्राणीको समेत सिकार गर्ने भएकाले यसले बाँदरको सङ्ख्या नियन्त्रण गरी वन पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। सामान्यतया यसले मानिसका घरपालुवा पशु चौपायामाथि आक्रमण गर्ने गरेको पाइँदैन।
वन विनाश, वासस्थानको खण्डीकरण, चोरी–सिकार, अवैध वन्यजन्तु व्यापार, सिकार प्रजातिको कमी तथा मानव गतिविधिको विस्तार ध्वाँसे चितुवाका प्रमुख चुनौती हुन्। सडक तथा अन्य भौतिक पूर्वाधारको विस्तारसँगै वन क्षेत्र टुक्रिँदै जाँदा यसको प्राकृतिक आवतजावत र वासस्थानमा प्रतिकूल असर परेको छ। जलवायु परिवर्तनले भविष्यमा यसको वासस्थान तथा आहार प्रजातिमा पार्न सक्ने प्रभावबारे पनि थप अध्ययन आवश्यक छ।

जामाचोमा आयोजित कार्यक्रममा थर्ड पोल कन्जरभेन्सीकी याङ्छेन शेर्पाले ध्वाँसे चितुवाको महत्त्व, संरक्षण अवस्था, दिवसको उद्देश्य तथा आगामी कार्ययोजनाबारे प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा थर्ड पोल कन्जरभेन्सीका ग्याजो लामा, भक्तपुर बहुमुखी क्याम्पसका प्राध्यापक दिक्पालकृष्ण कर्माचार्य तथा चरा विज्ञ कृष्ण भुसालले ध्वाँसे चितुवा लगायत अन्य वन्यजन्तुहरूको पारिस्थितिक महत्वबारे प्रशिक्षणात्मक मन्तव्य दिएका थिए। साथै, उनीहरूले विद्यार्थीलाई चरा, वन्यजन्तु तथा वनस्पतिको अवलोकन र अभिलेखीकरणमा सहजीकरण गरेका थिए।
करिब ४० जना सहभागी विद्यार्थीहरूले पदयात्राका क्रममा तीन बोरा प्लास्टिकजन्य फोहोर सङ्कलन गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थी मुना श्रेष्ठले दुर्लभ ध्वाँसे चितुवाबारे धेरै नयाँ र रोचक जानकारी प्राप्त भएको बताइन्। अर्का विद्यार्थी मनिष सिंहले राष्ट्रिय निकुञ्जभित्रको पदमार्गमै जथाभाबी फालिएको फोहोर देख्दा दुःख लागेको प्रतिक्रिया दिए।

नवौँ अन्तर्राष्ट्रिय ध्वाँसे चितुवा दिवसका अवसरमा थर्ड पोल कन्जरभेन्सीले ध्वाँसे चितुवा संरक्षण क्लब तथा स्थानीय समुदायसँगको सहकार्यमा इलाम, झापा, काठमाडौं उपत्यका, कास्कीलगायत विभिन्न स्थानमा संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्ने याङ्छेन शेर्पाले जानकारी दिइन्।
प्राध्यापक कर्माचार्यले विद्यार्थी लक्षित यस्ता कार्यक्रमले अनुसन्धान र संरक्षणप्रति उनीहरूको रुचि तथा जिम्मेवारीबोध बढाउने भएकाले दीर्घकालीन रूपमा प्रभावकारी हुने बताए। उनले ध्वाँसे चितुवाको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता, वैज्ञानिक अनुसन्धान र जनचेतनामूलक अभियानबीचको सहकार्य अपरिहार्य रहेको बताए ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…