‘भ्यागुताको संसार’ पुस्तक विमोचन


     नेचर न्युज    
     कार्तिक १६ गते २०८३ मा प्रकाशित


काठमाडौं : प्रकृतिका साथीहरू संस्थाले आफ्नो २२औँ साधारण सभाको अवसर पारेर आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच ‘भ्यागुताको संसार’ पुस्तक विमोचन गरेको छ।

संस्थाका कार्यक्रम संयोजक सुमन सापकोटा, कार्यकारी निर्देशक राजु आचार्य र परियोजना अधिकृत संगम पौडेलद्वारा लिखित उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ वन्यजन्तु विज्ञ प्राध्यापक करणबहादुर शाह, आईयूसीएन नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ डा. नरेन्द्रमान बाबु प्रधान र प्रकृतिका साथीहरू संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र गौतमले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो।

ओझेलमा परेका भ्यागुता र तिनका वासस्थानको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रकाशित पुस्तकले भ्यागुता संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको संस्थाले जनाएको छ। ‘भ्यागुता के हो?’, ‘भ्यागुतालाई किन जोगाउने?’ लगायतका १४ वटा शीर्षक समेटिएको पुस्तकमा भ्यागुतासम्बन्धी जानकारीमूलक सामग्रीसँगै रोचक कथाहरू पनि समावेश गरिएका छन्।

वि.सं. २०६१ फागुन २६ गते स्थापना भएको प्रकृतिका साथीहरू संस्थाको २२औँ साधारण सभाले गत आर्थिक वर्षको प्राविधिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ। संस्थाका अध्यक्ष सोम जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. प्रेमराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कृष्ण भुसालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रमको प्रगति तथा समीक्षासम्बन्धी प्रतिवेदन कार्यकारी निर्देशक राजु आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विशाल गौतमले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा डब्लूडब्लूएफ नेपालका पार्टनरसिप डेभलपमेन्ट प्रमुख राजेन्द्र सुवाल तथा संस्थाका संस्थापक सदस्य विनोद घिमिरेको पनि उपस्थिति रहेको थियो।

दुई दशकभन्दा लामो समयदेखि नेपालमा वन्यजन्तुको अध्ययन, अनुसन्धान तथा संरक्षणका क्षेत्रमा निरन्तर क्रियाशील यस संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव र वन्यजन्तु अनुसन्धान विधि तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रम वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि तथा अनुसन्धान क्षमता विकासका दृष्टिले प्रभावकारी र उपलब्धिमूलक बन्दै आएका छन्।