बाल सामाजिक अभियान्ता प्रेन्सालाई सरुभक्त बालप्रतिभा पुरस्कार


     नेचर न्युज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित


पोखरा : बाल सामाजिक अभियान्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अग्रज साहित्यकार सरुभक्त र पशुपति क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले रेग्मीलाई ५० हजार नगद राशि तथा सम्मानपत्रसहित पुरस्कार प्रदान गरे । साहित्यकार सरुभक्तले बालप्रतिभा पुरस्कार स्थापना गरेका हुन् ।

बालप्रतिभा कला, साहित्य, संगीत र खेलकुदको साथै सामाजिक चेतना, मानवीय सेवा र समाज रुपान्तरणप्रतिको प्रतिबद्धतामा पनि अभिव्यक्त हुन्छ भन्ने मान्यताका साथ म्याग्दी जिल्लाको मंगला गाउँपालिकाकी रेग्मीलाई पुरस्कार प्रदान गरिएको छनोट समिनिका संयोजकले ईश्वमणि अधिकारीले बताए । पोखराका गण्डकी बोर्डिङ स्कूलमा ९ कक्षमा अध्ययनरत रेग्मी हाल पोखरा ११ फूलबारी बस्दै आएकी छन् ।

कोभिड १९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारकालागि खाद्यन्न व्यवस्थापन र कपडा उपलब्ध गराउने लगायतका मानवीय कार्य उनले गरेकी थिइन । लुगा बैंक स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने काममा उनको सक्रियता छ । १६ वर्ष मुनिका बाल प्रतिभाहरुलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमा स्थपना भएको हो । यस अघि यो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बालबालिकालाई आप्नो इच्छा अनुसार काम गर्न दिनुपर्नेमा जोड दिए । सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठ, पशुपति क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने, संस्थाका उपाध्यक्ष तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाल लगायतले पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना दिएका थिए । सम्मानित व्यक्तित्व प्रेन्सा रेग्मीले बालबालिकाले समाजमा भएका विभेद अन्त्य गर्न आवाज उठाउनु पर्ने बताइन् । उनले परिवर्तनकालागि उमेर, पद, धेरै सम्पत्ति नचाहिने बताइन् । कार्यक्रममा ८ वर्षे भूमिलक्ष्मी पराजुलीले आफुले लेखेको पुस्तकबाट कथा वाचन गरेकी थिइन् ।