स्याङजाको पकान फाँटमा आलु महोत्सव


     नेचर न्युज    
     फागुन १५ गते २०७७ मा प्रकाशित


आलुको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले भीरकोट नगरपालिका ५ पकान फाँटमा आलु महोत्सवको आयोजना गरिएको छ । ‘सुन्दर ठाँउ पकान जाउँ, आलुको परिकार खाँउ’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक भीरकोटले आलु महोत्सव भएको हो । 

दुई दिने महोत्सवमा ५० टन आलुको कारोबार भएको आयोजकले बताएका छन् । महोत्सव १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। महोत्सवमा सहभागीले आलुका १८ किसिमका परिकारका स्वाद लिने गरी परिकार तयार गरिएको थियो । आलुका परिकार बनाउन सीप तथा आलु बिक्री तथा प्रर्दशनीसहित प्रतियोगिता समेत भएको थियो । 

महोत्सवमा स्थानीय कलासंस्कृतिको पनि प्रर्दशन भएको छ । ग्राहकका रोजाई अनुसारका दाना र फाँटबाटै तत्काल आलु खनेर खरिद गर्न सकिने व्यवस्था मिलाइएको थियो। महोत्सवमा सहभागीले खेतमै पुगेर आलु किने । स्याङजा लगायत कास्की र पाल्पाबाट समेत आलु किन्न आएका थिए। महोत्सवमा आलु प्रति किलो ३५ रुपैंयामा बिक्री भएको फाँटमा आलु खेती विस्तार गरेर किसानलाई व्यवसायसँग जोड्ने उदेश्यले महोत्सव गरिएको नगरप्रमुख छायाँराम खनालले जानकारी दिए। नगरपालिकाले किसानका लागि बिउँ, आलु, विषादी र औषधिमा ५० प्रतिशत अनुदान दिएको छ। यसैगरी कृषि ज्ञान केन्द्रले पनि ५० रोपनी क्षेत्रमा ९० प्रतिशत अनुदानमा आलुको बिउ अनुदानमा उपलब्ध गराएको छ। 

विगतका वर्षमा तरकारी खान मात्र आलु लगाउने किसानले यसपटक व्यवसाय गर्नेगरी आलु लगाउन थालेका छन् । व्यक्तिगत तथा सामूहिक गरेर ३ सय रोपनीमा आलु लगाइएको छ। क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र, भीरकोटसहित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा महोत्सव गरिएको हो। 

महोत्सवले किसानलाई हौसला बढाएको र खेतबाटै आलु बिक्री गर्न पाएको किसान मोतीलाल पौडेलको भनाइ छ । 

यहाँ आलुको उत्पादन राम्रो हुने भएकाले विभिन्न ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गीकरण गरेर व्यावसायिक उत्पादनमा जोड दिएको छ। किसानले जनकदेव, रातो, सेतो, कार्डिनल, जातका आलु उत्पादन गरेका हुन् । महोत्सवमा आलु किसानलाई सम्मान गरिएको थियो। 

यस अघि पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा हेमजा आलु महोत्सव  हुँदै आएको थियो । पछिल्ले वर्षमा हेमजा आलु महोत्सवले निरन्तरता पाउन सकेको छैन ।