
रारा ताल संरक्षण गर्न सरकारले २०३२ सालमा रारालाई राष्ट्रिय निकुञ्ज घोषण गर्यो । तालसँगै जोडिएका रारा र छाप्रुका करिब २ सय घर धुरी परिवारलाई २०३५ सालमा बस्ती छोड्न लगाइयो र अन्यत्र बस्ने व्यवस्था मिलाइयो ।
ताल र त्यहाँका वन्यजन्तु संरक्षण गर्न यसरी तत्कालीन सरकारले रारालाई राष्ट्रिय निकुञ्ज घोषण गरेपछि स्थानीयले पुस्तौँदेखि बस्दै आएको आफ्नो थातथलो छोडे । सरकारको एउटा निर्णयले स्थानीयले आफ्नो संस्कृति, जनजीवनसँग जोडिएका प्यारो थलो मात्र होइन पुस्तौँदेखि आफ्ना पुर्खाको रगत पसिना सिञ्चित थातथलो छोड्न बाध्य भएका थिए । यसरी देशकै सबैभन्दा ठूलो रारा ताल र त्यस क्षेत्रका वन्यजन्तु संरक्षण गर्न रारालाई राष्ट्रिय निकुञ्ज घोषण गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज धेरै भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । हिमालको काखमा हरियाली वनको बिचमा रहेको रारा निकै आकर्षक ताल हो। यसैले रारालाई स्वर्गकी अप्सरा पनि भन्ने गरिन्छ । रारा तालको क्षेत्रफल ९.८ वर्ग किमी छ । यस तालको लम्बाइ करिब ५ किमी छ । चौडाइ ३ किमी र गहिराई १ सय ६७ मिटर रहेको रहेको छ । रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएको हो ।
निकुञ्जमा हिमाली कालो भालु, थार, हाब्रे, घोरल, रतुवा मृग, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने निकुञ्जले जनाएको छ । यस निकुञ्जमा डाँफे, मुनाललागायत २ सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यस तालमा नेपालमा पाइने ७ प्रजातिका मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छ। रारा ताल समुन्द्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । ताल किनारमै फुल्ने लालीगुराँस फूल र हिमाली दृश्यले रारा पुग्ने जोकोही मोहित हुन्छन् ।
ताल र वन्यजन्तु संरक्षणकालागि निकुञ्ज बनाएर संरक्षणका काम भइरहेको यस रमणीय संरक्षण क्षेत्रको भ्रमणमा २०७४ वैशाख पहिलो हप्ता पुग्दा खहरे खोलाको बगरमा रुख ढलिरहेका थिए । गेगर र माटो तालतिर सोझिएको थियो । तालसँगै जोडिएको मिलीचौरमा रुख ढलेर कुहिएको अवस्थामा थिए । मिलीचौरका रुख दश वर्षअघि वन्यजन्तुकालागि चरीचरण गर्न सहज होस भनेर कटान गरिएको निकुञ्ज प्रशासनले बताएको छ ।
वर्षा याममा तालमा मिसिने खहरे खोलाले तालमा थोरै परिमाणमा गेगर, माटो पुर्याउने गरेको स्थानीय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बिर्ख रोकायाले बताए । फेवातालमा जस्तो ताल नै पुरिने गरी बग्ने खहरे खोला भने रारा ताल क्षेत्रमा नरहेको उनले सुनाए । ताल नपुरियोस् भनेर खहरे खोला संरक्षणको काम पनि भइरहेको उनले बताए ।
मिलाीचौर क्षेत्रको खोला, ठाकुरनाथ मन्दिर खोला, डोल्टा खोलालगायतका खहरे खोलाबाट बग्ने माटो र गेगरले ताल पुरिने क्रम रोक्न नियन्त्रणका काम भइरहेको स्थानीय मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बिर्ख रोकायले बताए । रारा वरपर साना साना खहरे खोला रहेकोले ताल पुर्ने सम्भावना भने नरहेको उनले सुनाए ।
रारा ताल क्षेत्रमा भूक्षय रोक्न खहरे खोलामा सुख्खा पर्खाल लगाउने काम वर्षेनी हुँदै आएको रारा राष्ट्रिय निकुञ्जका रेन्जर सरोज खड्काले जानकारी दिए । सुख्खा पर्खाल लगाएको क्षेत्रमा वर्षा याममा केही क्षेत्रमा पहिरो आएर बगाउने गरेको पनि उनले सुनाए । ठाकुरनाथ मन्दिर क्षेत्रमा लगाइएको सुख्खा ढुङ्गाको पर्खाल पहिरोले बगाएर पुननिर्माण गरिएको पनि उनले बताए । रारा तालको मुहान क्षेत्रमा फेवातालको जस्तो ठूला खहरे खोला नभएको र तालको पानीको मुख्य स्रोत भनेको ताल भित्र नै फुट्ने मूल पानी भएकोले ताल पुरिने जोखिम नरहेको उनले बताए।
रारा ताल वरपर बस्ती नभएकोले फेवातालजस्तो प्रदूषणको चपेटामा पर्ने अवस्था पनि नरहेको उनले बताए। यसैले रारा ताल सुरक्षित र सफा कञ्चन रहेको उनले सुनाए । फेवाजस्तो रारा ताल पुरिने जोखिम नरहे पनि साना खहरे खोलाबाट पुरिने क्रम रोक्न प्रभावकारी रूपमा काम भने हुनु पर्ने उपभोक्ता समितिका अध्यक्ष रोकायले बताए । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रको मुगुमा ७ उपभोक्ता समिति र जुम्लामा ३ उपभोक्ता समिति रहेका छन् ।
पोखरा आएका पर्यटकलाई रारा पठाउने र रारा आउने पर्यटकलाई फेवा पठाएर पर्यटन विकास गर्न सम्भावनाको अध्ययन गर्न नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) पश्चिमाञ्चल पोखराको टोलीसहित पोखराका पर्यटन व्यवसायी रारा पुगेका थिए । राराको कञ्चन पानी देखेर र राराको सुन्दरताबाट पोखरेली पर्यटन व्यवसायी मोहित भएका थिए । रारा ताल किनारमा बसेर तालको पानी अञ्जुलीले खाँदै नाटाका तत्कालीन अध्यक्ष डिल्लीप्रसाद गौतमले फेवाको पानी पनि यस्तै कञ्चन बनाउन चुनौती नै चुनौती थपिएको बताएका थिए ।



फेवाताल सम्बन्धी अन्य समाचारहरु
वर्षा याममा यसरी पुरिन्छ फेवाताल (फाेटाे फिचर)
सिमसार जोगाउन तीन तहकै सरकारको बेवास्ता: फेवा सिमसार जोगाउनै मुस्किल
फेवातालको गहिराइ बढाउन माटो झिकिदै
रामसारमा सूचीकृत पोखराका नौ ताल, अन्तर्राष्ट्रिय करण गरियो भएन संरक्षण




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …