फेवातालको गहिराइ बढाउन माटो झिकिदै


     नेचर न्युज    
     फागुन ५ गते २०७७ मा प्रकाशित


फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएको मौका छोपी गण्डकी प्रदेश सरकारले तालमा थुप्रिएको माटो झिक्ने भएको छ । फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले समिति बनाएको हो  ।

फेवा बाँध मर्मत गर्न बाँधकाे ढाेका खाेल्दा घटेकाे फेवातालकाे पानीकाे सतह । तस्बिर : कृष्णमणि बराल

पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।तालको पानीको सतह घटेको बेलामा पोखरा बृहत सरसफाइ अभियानले शनिबार डोजर नै चलाएर तालको माटो झिकेको थियो । प्रदेश र स्थानीय सरकारलाई तालको पानीको सतह घटेको बेलामा माटो झिक्न दवाव दिन पोखरा बृहत सरसफाइ अभियानले तालको माटो झिकेको थियो । पोखरा बृहत सरसफाइ अभियानले तालको माटो, ढुंगा, गिट्टी झिकेको भोलिपल्टै गण्डकी प्रदेश सरकारले त्यही कामका लागि समिति नै बनाएको हो ।

समितिमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे लगायत सदस्य छन् ।

समिति संयोजक श्रेष्ठले फेवातालको पानी घटाइएकाले तालमा जम्मा भएको माटो, ढुंगा लगायत गेग्रान झिक्ने यो राम्रो अवसर भएको बताए । ‘अहिले बाँध मर्मतका लागि पानी घटाइएको बेलामा माटो झिकौं, ताल पुरिनबाट जोगाऔं भनेर लागेका हौं,’ उनले भने, ‘हिजो अभियन्ता साथीहरुले माटो झिकेपछि त्यसलाई प्रेरणाको रुपमा लिएका छौं ।’ अहिले पनि फेवातालको माटो झिक्न नसके फेवाताल पुरिने खतरा बढेको संयोजक श्रेष्ठले सुनाए । तालका विभिन्न क्षेत्रमा थुप्रिएका गेग्रान निकाल्न बैठकले विभिन्न कार्यालयलाई कार्यक्षेत्र नै तोकेको छ ।

ड्यामसाइडस्थित बाँधदेखि फिर्केखोलासम्म पर्न ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरण, बाराहीघाटदेखि खहरे क्षेत्रको अन्तिम विन्दु (गैराको चौतारा) सम्म ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालयले काम गर्ने जिम्मा तोकिएको छ ।

यस अघि पोखरा महानगरपालिकाले फेवातालमो मुहान खपौदी क्षेत्रमा ९ वर्ष भित्र ताल पुरिएर बनेको चौरको माटो झिक्न निजी कम्पनीलाई जिम्मा दिएको थियो । माटो झिक्न जिम्मा पाएको निजी कम्पनीले तालबाट झिकेको माटो तालकै सिमसार क्षेत्रको निजी जमीन पुर्न बिक्री गरेपछि पत्रपत्रिकामा समाचार आएपछि रोकीएको थियो । वर्षाको मुखैमा वैशाख, जेठ महिनामा तालबाट झिकेको माटो तालकै सिमसार क्षेत्रमा पुर्न प्रयोग गरिएपछि आलोचना भएको थियो । प्रदेश सरकारले तालको गहिराई बढाउन र तालको आयु बढाउन माटो झिक्ने काम गर्न अघि बढ्दै गर्दा यस विषयमा सचेत हुनु पर्ने नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेले बताए ।