काठमाडौँमा २४ घण्टामा १२१.५ मिलिमिटर वर्षा : विभिन्न स्थान डुबानमा


     नेचर न्युज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित


गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो ।

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उहाँले बताउनुभयो । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ ।

मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । बिहान ८:४५ बजे अघिकाे २४ घण्टा काठमाडौँ उपत्यकामा १२१.५ मिलिमिटर वर्षा भएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प छ । तस्वीर : पेमा लामा रासस

जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ । रासस