तिहारमा यसकारण पुजिन्छन् काग, कुकुर र गाई


     नेचर न्युज    
     कार्तिक १८ गते २०७८ मा प्रकाशित


नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । कागलाई पूजा गरेर सुरु भएको तिहार कुकुर पूजा, गाईपूर्जा, गोवर्द्धन पूजा गरिन्छ । लक्ष्मीपूजाको दिन हिन्दुहरूले आफ्नो घरमा माता लक्ष्मीको पूजा आराधना गर्छन्, जसले गर्दा माताको कृपा प्राप्त भएर धन—सम्पत्ति प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् र म्ह पूजा अर्थात् आत्मपूजा गरिन्छ । तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयकका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

तिहारमा काग, कुकुर र गाई पूजा गर्नुकाे महत्वपूर्ण सन्देश भनेकाे अन्य प्राणीहरूको संरक्षण गर्न प्रेरित गराउनु हाे । पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न सन्देश दिन खाेजिएकाे हाे । तर हामीले वर्षमा एक पटक कर्मकाण्ड पुरा गर्न गरे जस्तै गरी पूजा गर्ने र अन्य दिन बेवास्ता मात्र हाेइन दुरव्यहार गर्दै आएका छाै ।

 काग पूजाकाे महत्व

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खान दिएर मनाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकोले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । यसकाे महत्व सबै प्रजातिका चराहरुलाई माया गर संरक्षण गर भनिएको हो । तर हामीले यसको भित्रि मर्म बुझन नसक्दा वर्षमा एक दिनमात्र कर्मकाण्डको रुपमा पूजा गर्दै आएका छौं ।

संस्कृतिक महत्व यस्तो पनि छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ ।  दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिकालागि परिवारका सबै सदस्यका नाममा साँझ यम दीपदान गर्ने परम्परा पनि रहेको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ ।

 कुकुर तिहार

कुकुर पूजाकाे महत्व पनि काग पूजा जस्तै सबै जनावरलाई माया गर संरक्षण गर भनिएको हो । तर हामीले यसको भित्रि मर्म बुझन नसक्दा पारिस्ठितिकीय प्रणालीमा खलवल पुगेकाे छ र मानिसालाई विभिन्न जटील किसिमका राेगले सताइरहेकाे छ । पछिल्लाे समयमा काेराेना मान्छेकाे काल बनेर अाएकाे छ ।

सास्कृतिक महत्व । यमपञ्चकको दोस्रो दिन इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । 

गाईपूजा

 हिन्दु धर्ममा गाईलाई आमाको रुपमा पूजा गरिन्छ । गाई जिँउदाे देवीको प्रतीक पनि मानिन्छ । लक्ष्मीपूजाका दिन बिहान गाईलाई तेल लगाई सयपत्री, मखमली फूलको माला लगाई पूजा गरिन्छ । पहाडी र हिमाली क्षेत्रमा सहजै पाइने डल्ली गाईको मूत्र, गोवर, दुध औषधीय गुण भएको कुरा हिन्दुहरूले पत्ता लगाएर गाईलाई आमाको रुपमा पूजा गरिन थालिएको हो ।जङ्गली अवस्थामा हजारौँ वर्ष ककेसस पर्वतका जङ्गलहरूमा योगी तथा ऋषिहरूले योगाभ्यास, तप तथा ध्यान गरी  विताँउथे ।

उनीहरूलाई कुनै रोग व्याध लाग्दा गाईको दुध तथा गहुत सेवन गरे । यसरी गाईको दुध तथा मुत्रमा औषधीय गुण रहेको कुरा पत्ता लगाएको विश्वास गरिन्छ । तरकारी, बालीनालीमा किरा लाग्दा गाईको मूत्र प्रयोग गरिन्छ । यसरी गाईको मूत्र प्रयोग गर्दा किरा मर्ने र बाली राम्रो हुन्छ । यो वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टि भएको छ । गोवरले घर लिप्नु पनि मानिसको स्वास्थ्यकालागि हानिकारक किरा खानामा नपरून्, किराबाट विभिन्न रोगको सङ्क्रमण नहोस भन्ने रहेको छ । यति महत्त्वपूर्ण गाई पछिल्लो समयमा हेला भएका छन् । सडकमा अलपत्र छन् । आधुनिकता र विकासका मारमा गाई पनि परेका छन् । 

समग्रमा तिहारमा काग, कुकुर, गाई, गोरु पूजा गर्नु भनेको पृथ्वीमा सबै प्राणीको उतिकै महत्त्व छ संरक्षण गर भन्नु नै हो । कागले चराहरूको प्रतिनिधित्व गर्छ, कुकुर, गाईले अन्य जनावरको प्रतिनिधित्व गर्ने गरी यसरी हिन्दु धर्ममा काग, कुकुर र गाईलाई पृथ्वीको चक्रीय प्रणाली बचाई राख्न सन्देश दिएको छ । तर हामीले वर्षमा एक दिन खोजेर भए पनि कुकुर, गाई, कागलाई पूजागर्ने र अरू दिन बेवास्ता गर्दै आएका छौँ । मानव जनसङ्ख्या वृद्धि सँगै पृथ्वीको चक्रीय प्रणालीकालागि चुनौती बनेको छ ।

यसैले पृथ्वीबाट धेरै वन्यजन्तु, वनस्पति लोप हुँदै गएका छन् । चक्रीय प्रणाली खलबलीदा मानव जीवनमा चुनौती थपिँदो छ । यसैले इबोला, रेबिज, सार्साक्रोना लगायत हुँदै पछिल्लो समयमा कोरोना भाइरस मानिसकालागि चुनौतीको रुपमा देखा परेको छ । अन्य प्राणीहरूको संरक्षण गर्न पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न सन्देश दिने महत्त्वपूर्ण नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारले वन्यजन्तु संरक्षणमा सबैमा प्रेर्णा मिलोस सबैमा शुभकामना ।