ब्रह्माण्डको सुरुवाततिरको स्पष्ट दृश्य देखिने तस्बिर


     जोनाथन एमोस     
     असार २९ गते २०७९ मा प्रकाशित


जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण(रङ्गिन तस्बिर सार्वजनिक गरिएको छ । यसले विश्वका मानवलाई उत्साहीत बनाएको छ । ब्रम्हण्डको बोमा थप जान्न र बुझन वैज्ञानिक र समग्र मानवलाई उत्साह जगाएको छ ।
यो तस्बिरले ब्रह्माण्डको सबभन्दा गहिरो, अति विस्तृत इन्फ्रारेड दृश्य देखाएको बताइएको छ।तस्बिरमा हामीकहाँ आइपुग्न अरबौँ वर्ष लागेको आकाशगङ्गाहरूको प्रकाश समेत खिचिएको छ।

जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण रङ्गिन तस्बिर । तस्बिर : नासा

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा जानकारी दिने क्रममा उक्त तस्बिर देखाइएको थियो। जेम्स वेब टेलिस्कोपले खिचेका थप तस्बिरहरू मङ्गलवार नासाले गर्ने एउटा विश्वव्यापी प्रस्तुतिमाझ सार्वजनिक गर्दैछ। राष्ट्रपति बाइडेनले भने, “यी तस्बिरले सारा संसारलाई अमेरिकाले ठूल्ठूला काम गर्न सक्छ भन्ने सम्झाइरहनेछ र अमेरिकी खासगरी हाम्रा सन्ततिहरूलाई हामीले गर्न नसक्ने केही छैन भन्ने सम्झाइरहनेछ।”

“हामी अरू कसैले यस अघि नदेखेका सम्भावनाहरू देख्न सक्छौँ। यस अघि कोही नपुगेको ठाउँमा हामी पुग्न सक्छौँ।” गत वर्षको डिसेम्बर २५ तारिखका दिन १० अर्ब अमेरिकी डलर मूल्य पर्ने जेम्स वेब टेलिस्कोप त्यस अघिको प्रख्यात हबल स्पेस टेलिस्कोपको उत्तराधिकारीका रूपमा प्रक्षेपण गरिएको थियो।

यसले आकाशको सबै प्रकारको पर्यवेक्षण गर्नेछ तर यसका दुई निश्चित लक्ष्य छन्। पहिलो १३.५ अर्ब वर्ष अगाडि यो ब्रह्माण्डमा उदाएका पहिला ताराहरूको तस्बिर खिच्नु छ र अर्को सुदूर अन्तरिक्षमा रहेका कुनै ग्रह जीवन यापनका लागि योग्य छन् कि भन्ने पत्ता लगाउनु छ। राष्ट्रपति बाइडेनसमक्ष प्रस्तुत गरिएको तस्बिरले वेब टेलिस्कोपले उद्देश्य अनुसारको ब्रह्माण्डीय वस्तुहरूको अन्वेषण गर्ने क्षमता प्रदर्शन पनि गरेको छ।यो तस्बिरमा तपाईँले देखेको दृश्य भोलान्स नामक दक्षिणी गोलार्धका तारामण्डलमा रहेका आकाशगङ्गाको समूह हो जसलाई SMACS 0723 नाम दिइएको छ। यो समूह त्यति टाढा छैन – “केबल” ४.६ अर्ब प्रकाश वर्षको दूरीमा छ। तर यो समूहको बृहत् पिण्डले अझ टाढा रहेका वस्तुको प्रकाशलाई बङ्ग्याइदिएका र बढाइदिएका छन्।

यो एउटा गुरुत्वाकर्षण प्रभाव हो – खगोलीय सन्दर्भमा एउटा टेलिस्कोपको जूम लेन्सले पार्ने जस्तै प्रभाव। टेलिस्कोपमा जडित ६.५ मिटर चौडा सुनौलो ऐना र अति संवेदनशील इन्फ्रारेड उपकरणको सहयोगमा वेबले आकाशगङ्गाको यो टेढोमेढो तस्बिर खिच्न सफल भएको छ जुन बिग ब्याङ्ग भनिने ब्रम्हाण्डीय महा विस्फोट भएको भनिएको ६० करोड वर्षसम्म अस्तित्वमा थिए। ब्रह्माण्ड १३.८ अर्ब वर्ष पुरानो भएको मानिन्छ।

वैज्ञानिकहरूले वेबले उत्पादन गरेको डेटाको गुणस्तरबाट यो तस्बिरमा देखिएको सबभन्दा टाढाको वस्तुभन्दा पनि परको अन्तरिक्षका बारेमा समेत यो टेलिस्कोपले पत्ता लगाउन सक्ने अनुमान गरेका छन्। फलस्वरूप यो अहिलेसम्मकै सबभन्दा गहन ब्रह्माण्डीय क्षेत्रको दृश्य बन्न पुगेको छ।

जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिल्लो पल्ट खिचिएको ब्रह्माण्डको पूर्ण रङ्गिन तस्बिर । तस्बिर : नासा

नासाका प्रशासक बिल नेल्सन भन्छन्, “प्रकाश १८६,००० माइल प्रति सेकेन्डको दरमा यात्रा गर्छ। र यहाँको स-साना धब्बामा देखिएको प्रकाश १३ अर्ब वर्षदेखि यात्रा गरिरहेको छ।” “अनि हामी अझ पछाडि जाने छौँ किनभने यो त बल्ल पहिलो तस्बिर हो। उनीहरू साढे तेह्र अर्ब वर्ष पछाडि जाँदैछन् किनभने हामीलाई थाहा छ ब्रह्माण्ड १३.८ अर्ब वर्ष पुरानो छ र हामी करिब ब्रह्माण्ड सुरु भएको समयतिर पुग्दैछौँ।”

समाचार बीबीसी नेपालीबाट लिइएको हो । जोनाथन एमोस बीबीसीका विज्ञान सम्बाददाता हुन् ।