पोखरामा कृषि जैविक विविधता मेला


     नेचर न्युज    
     माघ २ गते २०८० मा प्रकाशित


पोखरा : पोखरमा कृषि जैविक विविधता मेला भएको छ । ऐतिहासिक ढुँङ्गेसाँघु मेलाको अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी गरिएको हो ।

पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा भएको प्रदर्शनीमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता भएको हो । मेलामा माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु सहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालु तर्फ १० थरी, र ३ थरीका सखरखण्ड प्रदर्शनी गरिएको थियो । बागवानी अनुसन्धान केन्द्रमा तयार गरिएका कन्दमूलहरू पनि मेलामा प्रदर्शन गरिएको थियो ।

यसअघि मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताए। कृषकहरूलाई अनुदान तथा साझेदारी कार्यक्रम मार्फत सहुलियत प्रदान गर्दै प्राङ्गारिक उत्पादनमा हौसला प्रदान गरिएको पनि मेयर आचार्यले बताए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाँदै महानगरपालिकाले यान्त्रीकरणलाई समेत जोड दिइएको मेयर आचार्यले सुनाए ।

मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ । यस्तै सफल महिला कृषक समूह, पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भएका छन् । माघी परिकार केन्द्रित प्रतिस्पर्धामा टङ्कनाथ बस्ताकोटी पोखरा २३, पोखरा २४ प्रथम, रुपा बराल, पोखरा १३ दोस्रो, सङ्गीत सुनार, पोखरा १६ तेस्रो र सोबित अधिकारी, पोखरा २८ सान्त्वना भएका छन् ।

कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शनी गरेका थिए। घरमा उत्पादित कन्दमूल तर्फ पोखरा २२ का देवीलाल बराल प्रथम भए । यसै गरी पोखरा ३३ की सीता अधिकारी दोस्रो, पोखरा २५ कि सीता कुवँर तेस्रो र पोखरा २२ का रामजी पौडेलले सान्त्वना पुरस्कार पाए ।

वनमा उत्पादित कन्दमूल तर्फ पोखरा २२ का प्रदीप ढकाल प्रथम, चमेरेगुफा कृषक समूह दोस्रो, पोखरा १३ का टेकनाथ बराल पोखरा तेस्रो, र पोखरा २२ का देवीलाल बरालले सान्त्वना पुरस्कार पाए । विजेताहरूलाई पोखरा महानगरपालिका वडा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरेकी थिइन । दोस्रो राष्ट्रिय जैविक विविधता संरक्षण दिवसमा अवसरमा उक्त कार्यक्रम गरिएको हो ।