एशियाली चरा सम्मेलन : अर्नीथोलोजिकल एलायन्सको गठन


     नेचर न्युज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित


चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनबाट एशियन अर्नीथोलोजिकल अलायन्सको गठन भएकाे छ । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापक बरीष्ठ चरा बैज्ञानिक फुमिन लिको अध्यक्षतामा गठन भएको एशियन अर्नीथोलोजिकल अलायन्सले एशियामा पाईने चरा र तिनको बासस्थानको अनुसन्धान र संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने लक्ष्य लिएको छ ।

३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी उक्त चरा सम्मेलनमा नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुती राखेका थिए । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजको मुख्य आयोजनामा सम्पन्न सम्मेलनमा आईयुसियन दुर्लभ चराको रातो सुचीका सदस्य कृष्ण भुसालले जाडो याममा बसाईसरी नेपाल आउने अतिसंकटापन्न बगाले बगेडीको बिगत सात वर्षको अनुगमन तथ्याकं, बासस्थानको अवस्था, संरक्षण कार्यक्रम र चुनौतीबारेमा आफ्नो प्रस्तुती राखेका थिए ।

नेपालमा गिद्ध संरक्षणको अवस्था र स्याटेलाईट ट्याग गरेका गिद्धको अन्तरदेशीय बिचरण र संरक्षणमा हातेमालोको औचित्य बारेमा नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित बिलास जोशीले प्रस्तुती राखेका थिए । त्यसगरी दुर्लभ सानो खैरो गिद्धको पोखरा उपत्यकामा संख्या, बितरण र मान्छेहरुको गिद्ध प्रतिको धारणा बारे पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पोखरा उपत्यका सानो खैरो गिद्धको सबैभन्दा धेरै संख्या पाईने स्थान हो । यसको संख्या देशभर ५० देखी ७५ को संख्यामा मात्र रहेको अनुमान गरीएको छ भने पोखरा उपत्यकामा करीव ३० प्रतिशत पाईन्छ । नेपालमा चरा अनुसन्धानको अवस्थाबारे थर्डपोल कन्जरभेन्सीका दिक्पाल कर्माचार्य र घर भगेराको प्रजनन चक्रबारेमा बिज्ञ अनुज घिमीरेले प्रस्तुती राखेका थिए । सम्मेलनमा काठमाडौं उपत्यका भित्रका हरीत क्षेत्र र त्यसको चरा विविधता सँगको सम्बन्ध बारेमा सविना ओस्थीले पोष्टर प्रस्तुत गरेका थिए ।

दोस्रो एशियाली चरा सम्मेलनमा सहभागी ।

सम्मेलनमा जमिनमा बस्ने र लामो दुरीको बसाईसराई गर्ने चराको अनुसन्धान र संरक्षणमा कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे राउन्ड टेबल छलफल पनि भएको थियो । खेतबारी र घाँसेमैदान जस्ता खुला भुभागमा बस्ने चराका प्रजातीहरु पछिल्ल वर्षहरुमा घटदै गएकोमा तिनको अनुगमन र संरक्षणका कार्यहरु बारे सहभागि बिज्ञहरुले छलफल गरेका थिए ।