
पोखरा ः नवलपुर कावासोती १३ लौखानीकी २७ वर्षीय एलिना चौधरीले टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४ प्राप्त गरेकी छन् । संरक्षण, दिगो पर्यटन र महिला सशक्तिकरणमा उनले पु¥याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो । वाराही जङ्गल लजकी प्रकृतिविद् एलिना चौधरीले वन्यजन्तु संरक्षण, दिगो पर्यटन र संरक्षण क्षेत्रमा महिलाको भूमिकालाई प्रवर्द्धन गर्ने प्रयासकालागि अवार्ड प्रदान गरिएको जनाइएको छ ।
टफ्टाइगरको आयोजनामा भारतको नयाँ दिल्ली स्थित बिकानेर हाउसमा हालै भएको अवार्ड वितरण समारोहमा उनले अवार्ड पाएकी हुन् । अवार्ड कार्यक्रममा परम्परागत पोशकमा सजिएर एलिना पुगेकी थिइन् । होटल म्यानेजमेन्टकी विद्यार्थी चौधरी सानै उमेर देखि वन्यजन्तु संरक्षणमा क्रियाशील छन् । समूहमा आधारित चोरी सिकार प्रतिरोधक समूहमा स्वयंसेवी भएर दुई वर्ष काम गरेकी चौधरी गिद्ध संरक्षण, गिद्धको गुँडको मनिटरीङ, संरक्षण सचेतना कार्यक्रम लगायतका काममा सहभागी भएकी छन् । चौधरी पछिल्लो समयमा वाराही जङ्गल लजमा नेचुरलिस्टिकको रुपमा कार्यरत छन् ।
बुवाको पथमा एलिना

एलिना याे पुरस्कार पाउनुकाे स्रेय बुवा संरक्षण कर्मी धनबहादुर चौधरी (डिबी) र आफू कार्यरत वाराही जङ्गल लजलाई दिन्छिन् ।विगत ३० वर्ष देखि जैविक विविधता, चरा, वन्यजन्तु संरक्षणमा कार्यरत डिबी चौधरी १८ वर्ष देखि गिद्ध संरक्षणमा क्रियाशील छन् । बिडी चौधरीले २०६३ साल देखि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन नवलपुरको पिठौलीमा सञ्चालनमा आएको समुदायमा आधारित जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिको संस्थापक संयोजकको भूमिकामा रहेर गिद्ध संरक्षणमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।
उनी संयोजक रहेको जटायु रेस्टुरेन्ट विश्वमै गिद्धको संरक्षणकालागि खुलेको पहिलो र उदाहरणीय समुदायमा आधारित जटायु रेस्टुरेन्ट हो । यो अभ्यासको अन्तर्राष्ट्रिय रुपमा प्रशंसा हुँदै आएको छ । बुवा डिबी चौधरीको पदचाप पछ्याउँदै एलिना सानै उमेरदेखि संरक्षण क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् । आफू कार्यरत वाराही जङ्गल लजबाट पर्यटन र संरक्षणमा सँग सँगै लाग्न थप प्रेरणा मिलेको उनले बताइन् ।