पोखरामा यस वर्षकै धेरै वर्षा : सेतीमा बन्यो ताल, फेवातालमा बढ्यो पानीको सतह


     नेचर न्युज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित


नेपालमै धेरै पानी पर्ने सहर हो पोखरा । पोखरामा २४ घण्टामा सबैभन्दा धेरै ३ सय ५७ मिलिमिटर सम्म पानी परेको रेकर्ड छ । सन् २००१ को अगस्ट १८ मा पोखरामा यति धेरै पानी परेको थियो । पोखरामा गत २४ घण्टामा यस वर्षकै धेरै पानी प¥यो ।

सोमबार बिहान ८ः४५ मा जल तथा मौसम विज्ञान विभागले प्रकाशन गरेको २४ घण्टाको देशभरको मौसमी विवरणमा पोखरामा २६०.१ मिलिमिटर पानी परेको जनाएको छ । गत वर्ष पोखरामा २४ घण्टामा सबैभन्दा धेरै वर्षा जुलाई १० मा १५०.९ मिलिमिटर परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसम विज्ञान सहायक सरोज अधिकारीले बताए । पोखरामा मनसुन अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड भने गत वर्ष बनेको थियो ।

पोखरामा ५० वर्ष यताकै रेकर्ड वर्ष ५४ सय ५३.२ मिलिमिटर पानी गत वर्ष परेको हो । यस वर्ष पोखरामा सोमबार सम्म ३ हजार ४ सय २५ मिलिमिटर पानी परेको अधिकारीले जानकारी दिए । सेप्टेम्बर २३ सम्म मौसम अवधि हो । 

सेतीमा बन्यो ताल

पोखरामा वर्षकै धेरै पानी परेपछि साँगुरिएर बगेको सेती थुनिँदा रामघाट क्षेत्र ताल बनेको छ । प्रत्येक वर्ष वर्षायाममा ठुलो पानी पर्दा सेती थुनिँदा रामघाटमा ताल बन्ने गर्दछ । ठुलो वर्षापछि फेवातालको सतह पनि बढेको छ । तालको मुहान क्षेत्रका खहरे खोला, खोलामा ठुला वर्षा पछि पानी बढेपछि तालको सतह पनि बढेको हो । वर्षा हुनु अघि फेवातालकाे बाँध मर्मतकालागि तालको पानी घटाउँदा तालनै सुकेको अवस्थामा देखिएको थियो । बाँध मर्मतपछि बाध थुनेसँगै सुरु भएको वर्षाको कारण तालको सतह ठुलो वर्षा हुँदा नियमित भन्दा धेरै बढ्ने गरेको छ ।

महेन्द्रपुलमा भासिएकाे जमिन ।

भीषण वर्षापछिकाे भेलकाे कारण आइतबार राति पोखराको मुख्य बजार महेन्द्रपुलमा जमिन भासिएको छ । सेलवेजको गेटपारी सडक किनारमा सडक भासिएको हो । जमिन भासिदा ४ गर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । भासिएको जमिन पुरेर बलियो सिमेन्टको ढलान गरिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । जमिन भासिदा फुटपाथ पनि भासिएको छ । १२ हजार वर्ष अघि अन्नपूर्ण हिमाल क्षेत्रबाट अाएकाे बाढीले पुरिएर बनेकाे अहिलेकाे पाेखराकाे सतह भित्रकाे चुन वर्षाकाे पानी जमिन भित्र पस्दा पग्लदा जमित भासिने गरेकाे इन्जिनियर किसान सिह गुरुङ बताउँछन् ।

डुंगाको पानी फ्याँक्दै व्यवसायी ।