कालीगण्डकी बचाऔँ अभियान : आऊ, हातेमालो गरौं

- संरक्षण कविता


     ईश्वर कँडेल    
     कार्तिक २६ गते २०७८ मा प्रकाशित


सदियौंदेखि अविरल
बग्दैरुखबिरुवा र प्राणी जगतमा
निरन्तर जीवनपान गराउँदै
कैयौं परिवर्तनहरुको
मूक साक्षी बसिरहेको एउटा प्राचीन नदी हुँ म।

तिमीले देख्ने, लेख्ने र टेक्ने
सबैमा छु म कहीँ
न कहीँतर खै के सोचेर हो कुन्नि
अब मेरो प्राचीन मार्गमा
धावा बोल्दै छौ अरे
तर नबिर्सनु कहिल्यै
म छु र तिमीहरु छौ
म हुनु भनेको तिमीहरु हुनु हो।

मेरो मार्ग बदल्न खोज्नु
अगाडिमेरो प्रवाह छेक्न खोज्नु अगाडि
मसँग जुध्नु अगाडि
फुर्सदले पढ्नु सिन्धु र मायान सभ्यताका
जन्म र मृत्युका पानाहरु
यदि कुनै फरक परेन भने तिमीमा
आऊ र दोहन गर ममाथि
र हेर मेरो ताण्डव नृत्य
जतिबेला म मेरा दुवै किनारका
आफ्नै सभ्यताहरु चपाइरहेको हुनेछु।

त्यसैले,आऊ, हामी हातेमालो गरौं
म तिमीहरुलाई हराभरा र सम्पन्न राख्छु
तिमीहरु मेरो मार्ग नरोक
मलाई नचुँड
बिन्ती ।
***

-चितवन