
केही दिन अघि उपल्लो मुस्ताङका गाउँहरूमा जङ्गली गधा देखिएको खबर आइरहेको थियो । जुन कुरा पत्याउन निकै गाह्रो थियो । यस भन्दा अघि लोमान्थाङ वरपर यो वन्यजन्तु बस्ती नजिक आएको थाहा थिएन । मुस्ताङ लगायत उपल्लो हिमाली भागमा यसलाई क्याङ भनिन्छ ।
कसैले ५ वटा त कसैले एक वटा मात्र देखेको खबर आइरहेको थियो । तर आफैले देख्ने मौका पाइएको थिएन । मिति २०७८/०८/१० गतेका दिन चराङ खोलामा एउटा क्याङ छ भन्ने खबर आयो । शनिवार बिहानै क्यामरा बोकेर चराङ खोला तर्फ लागियो । साँगुरो गल्छीमा त बसेको छैन होला भन्ने सोचले खोला भन्दा दायाँ बायाँ लगभग ५ घण्टा क्याङको खोजी गरियो तर सफलता हात परेन । निराश भई पहिलो दिन देखिएको भन्ने ठाउँ तर्फ जाने निर्णय गरियो । दिउसो २:३० बजे चराङ गाउँ नजिक छिमिक कम्मा भन्ने स्थानमा एउटा क्याङ देखियो । समुद्री सतह देखि ३६२६ मिटरमा रहेको स्थानमा क्याङ चरिरहेको थियो ।
स्थानीयका अनुसार यो स्थानमा क्याङ देखिएको पहिलो पटक हो । देख्नु त परको कुरा हो बस्ती नजिक झरेको भन्ने कुरा सुनेको पनि थिएन । लोमान्थाङ गाउँपालिका वडा नं ५ बस्ने स्थानीय ८३ वर्षीय टसी गुरुङका अनुसार आफूले क्याङ तिब्बतको नजिक उच्च क्षेत्रमा धेरै पटक देखेको भए पनि आफूले सबै भन्दा तल्लो स्थानमा ५० वर्ष अघि छोजुङ गुम्बामा मात्र देखिएको बताए । छोजुङ गुम्बा ३९४७ उचाइमा रहेको छ । उनका अनुसार क्याङ बस्तीमा झर्दा ठुलो हिमपात हुने किम्बदन्ती रहेको छ। उनले थपे ‘यस पटक हिउँदमा ठुलो हिमपात हुन सक्छl’
वरिष्ठ वन्यजन्तु विज्ञ तथा प्राध्यापक करनबहादुर शाह भन्नुहुन्छ क्याङ बस्ती झर्नु सामान्य हो । ठुलो हिमपात पछि सुरक्षित गन्तव्यको खोजीमा बस्ती झर्ने गरेको उदाहरण हुम्लाको लिमिमा देखिएको बताए l उनले थपे ‘आफ्नो वासस्थानमा घाँसको कमी हुनु, बसाइको क्रममा बाटो बिराएर आउनु, बिच बाटोमा घोडा भेटेर त्यसको पछि लागेर आउनु यसको कारण हुन सक्छन्’ ।
चीन, पाकिस्तान, इन्डिया र नेपालमा पाइने जङ्गली गधाको वैज्ञानिक नाम Equus kiang हो । IUCN का अनुसार क्याङको वासस्थान तिब्बती पठारको २७०० देखि ५४०० मिटरको उचाइ रहेको छ । विश्वमा हाल ६००००-७०००० सम्म क्याङ रहेको अनुमान गरिएको छ । जस मध्ये ९० प्रतिशत क्याङ चीनमा रहेको अनुमान रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बती पठारमा पाइने क्याङ नेपालको मुस्ताङ र हुम्ला जिल्लामा अभिलेख गरिएको छ । नेपालमा पहिलो पटक सन् २००० मा प्राध्यापक करनबहादुर शाहको अनुसन्धान समूहले मुस्ताङमा फेला पारेको थियो।
(राम बहादुर गुरुङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयमा स्वास्थ्य सहायक हुन् । उनी पर्यटन, प्रकृति र फोटोग्राफीमा रुचि राख्छन्)




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…