सिक्लेसका युवाहरूका लागि नेचर गाइड तालिम सुरु


     नेचर न्युज    
     पौष १० गते २०७८ मा प्रकाशित


कास्की : पछिल्लो समयमा आन्तरिक पर्यटकले मादी गाउँपालिका अन्तर्गत सिक्लेस क्षेत्रलाई रुचाउन् थाले पछि यसको व्यवस्थापनमा स्थानीयहरू कस्सिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसले छनोट गरेका १० जना युवाहरुको लागि नेचर गाइड तालिम सुरु भएको छ l युरोपियन आउटडोर कन्जर्वेसन एसोसियसनको आर्थिक सहयोगमा संचालित ३ दिने सो तालिम प्रकृतिका साथीहरु, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना/इलाका संरक्षण कार्यालय सिक्लेस र मादी गाउँ पालिकाको सयुंक्त संयोजना संचालित गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै इलाका संरक्षण कार्यालय, सिक्लेसका निमित्त कार्यालय प्रमुख ढक बहादुर भुजेलले ‘पर्यटन, प्रकृति  र स्थानीय जीविकोपार्जन’ लाई सँग सँगै लैजान यस्ता तालिमहरू सहयोगी हुने बताए । स्थानीय समाजसेवी सन्तोष गुरुङले ‘गाउँको लागि उपयुक्त तालिम’ सञ्चालन भएको बताए । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेस र तांगतिङ्गमा केही वर्ष देखि ध्वाँसे चितुवा संरक्षण परियोजना सञ्चालन हुँदै आएको छ ।

प्रकृतिका साथीहरूका निर्देशक विकाश घिमिरेले तालिमको विषयमा जानकारी दिँदै भने ‘तालिम अवधिभर पर्या-पर्यटन, नेचर गाइडको भूमिका, स्थानीय संस्कृति, चरा, स्तनधारी, पुतली आदिको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइने छ’ । उनले थपे ‘ नेचर गाइडलाई दिइने सामग्रीहरूले उनीहरूको क्षमता अभिवृद्धि गर्नेछ । तालिमको सहजीकरण सो संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले समेत गरेका थिए ।