पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव : देशभरका लेक र हिमाली क्षेत्रमा हिमपात


     नेचर न्युज    
     पौष १४ गते २०७८ मा प्रकाशित


वर्षा संगै देशभरका उच्च लेक बस्ती र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिपातले हिमाली क्षेत्रको जनजीवन कष्ठकर भएको भएको स्थानीयले बताएका छन् । हिमालपारीको जिल्ला मुस्ताङ, मनाङमा बाक्लो हिमपात भएको छ । यस्तै गरी म्याग्दी र कास्कीको लेकाली बस्तीम पनि हिमपात भएको छ ।

गण्डकी प्रदेशका हिमाली जिल्लामा मात्र होइन देशभरकै उच्च लेक र हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो । सोलुखुम्बुमा पनि बाक्लो हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा, अन्नपूर्ण गाउँपालकाको घोडेपानी र राम्चेमा हिउँ परेको छ ।

मुस्ताङकाे जाेमसाेममा परेकाे हिउँ । मुस्ताङमा मंगलबार दिउँसो ३ः३० देखि मुस्ताङमा हिउँ परेको हाे । तस्बिर : ऋषि बराल

यसै गरी हिमाली जिल्ला मुस्ताङको ५ वटै स्थानीय तहमा हिमपात भएको छ । मंगलबार दिउँसो ३ः३० देखि मुस्ताङमा हिउँ परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए । हिउँ परेसँगै स्थानीयको दैनिकी कष्टकर बनेको छ । हिउँ र पानीले हिउँदे बालीलाई भने फाइदा पुग्ने पोखरा महनगरपालिकाका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । आलु, गहुँ, जौ लगायतका अन्नबालीलाई हिउँदे वर्षाले फाइदा पुग्ने पनि उनले सुनाए ।

मुस्ताङमा जाै, फापर लगाउने बेला भएको छ । हिउँले चिस्यान हुने र फापर र जौ बालीलाई राम्रो हुने एक्याप जोमसोमका प्रमुख बरालले बताए । स्याउँका बोटलाई पनि हिउँले राम्रो हुने उनले सुनाए । मुस्ताङ लगायत हिमाली क्षेत्र र लेकमा यो सिजनमै पहिलो पटक हिउँ परेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सम्म उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने र देशमा विभिन्न क्षेत्रमा पानी पनि पर्ने जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको विभागले जनाएको छ । हाल देशभर सामान्य देखि पुर्ण बादली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मुस्ताङकाे जाेमसाेममा परेकाे हिउँ । तस्बिर : ऋषि बराल