कावासोतीको जटायु रेष्टुरेन्टमा अहिले सम्मकै धेरै गिद्ध


     नेचर न्युज    
     पौष २४ गते २०७८ मा प्रकाशित


नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टेरेन्टमा अहिले सम्मकै धेरै गिद्ध देखा परेका छन् । एसियामै गिद्ध संकटमा परेको समयमा गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउने उद्देश्यले सन् २००६ मा नवरपरासीको पिठौलीमा जटायु रेस्टुरेन्ट संञ्चालनमा आएको हो । यो रेस्टुरेन्ट समुदायद्धारा सञ्चालनमा आएको विश्वकै पहिलो जटायु रेस्टुरेन्ट हो ।

पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनक औषधिको अत्याधिक प्रयोगले गिद्धको विनाश भएपछि डाइक्लोफेनक रहित शुद्ध आहारा उपलब्ध गराउन रेस्टुरेन्ट संञ्चालनमा आएको हो । पशु उपचारमा डाइक्लोफेनक खुवाइएका पशु उपचारका क्रममा मरेपछि गिद्धले त्यो सिनो खाँदा मृर्गौला खराव भई केही दिनमै मर्ने क्रम बढ्दै जाँदा गिद्धको संख्या ९५ प्रतिशत सम्मले ह्यस आएको थियो । यसैले गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन जटायु रेस्टुरेन्ट सञ्चालनमा आएको हो । डाइक्लोफेनक औषधिको अत्याधिक प्रयोगले गिद्धको विनाश भएपछि सरकारले २०६३ जेठ २३ गते यसको आयात र प्रयोगमा रोक लगाएको छ ।

सन् २०२१ डिसेम्बर महिनाको अन्तिम साता कावासोतीको जटायु रेस्टुरेन्टमा सिनो खान अहिले सम्मकै धेरै ७ प्रजातिका ३४१ गिद्ध आएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले जानकारी दिए । यसरी सिनो खान आएका गिद्धमा सबैभन्दा धेरै डंगर गिद्ध २५१ रहेको छ । यसै गरी हिमालयन गिद्ध ६१, राज गिद्ध १६, सुन गिद्ध ५, सानो खैरो गिद्ध ४, खैरो गिद्ध २ र सेतो गिद्ध २ वटा गरी ३ सय ४१ गिद्ध सिनाे खान अाएकाे चौधरीले बताए । यो अहिले सम्मकै धेरै संख्या रहेको पनि उनले सुनाए ।

यस अघि सन् २००५ मा ७२, सन् २०१० मा २१७ र सन् २०२० मा २३४ वटा सम्म गिद्ध देखिएकाे पनि जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले जानकारी दिए ।

नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सिना खान भेला भएका राज गिद्ध, सुन गिद्ध लगायत ।  
तस्बिर : डिबी चौधरी 

नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् । हिउँदमा जाडो छल्न नेपाल सम्म आइपुग्ने पाहुना गिद्धहरुमा राज गिद्ध, खैरो गिद्ध, लामो ठुडे गिद्ध हुन् । यिनीहरुले यहाँ बच्चा कोरल्दैनन । बाँकीले नेपालमै बच्चा कोरल्छन् । सिनाे खान अहिले सम्मकै धेरै संख्यामा गिद्ध आउनु खुशीको खवर रहेको चरा विद्ध कृष्ष भुसालले बताए । नियमीत रुपमा आहारा पाइनुले गिद्ध रेस्टुरेन्टमा आउने क्रम बढेको उनले बताए । यो समय गिद्ध बसाइँ साराइ गर्ने समय पनि हो । हिमाली गिद्ध पनि बसाइँसराइ गरेर नेपाल आउने गर्दछन् । गिद्ध सिनो खान २ सय किलोमिटर टाढा सम्म जाने गरेको पाइएको भुसालले बताए । स्याटेलाइट ट्याग लगाएर गिद्धको अनुसन्धानको गर्दा अाहाराकाे खाेजीमा गिद्धहरु २ सय किलाेमिटर टाढा सम्म जाने गरेकाे पाइएकाे हाे । यसैले यस जटायु रेस्टुरेन्टमा अन्यत्रबाट पनि आहारा खान गिद्ध पुग्थाने गर्दछन् ।

सिनो खाएर वातावरण सफा गर्ने र बिभिन्न किसीमका संक्रामक रोग फैलन नदिने गिद्ध संरक्षणकालागि कावासोतीका जटायु रेस्टुरेन्टको सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया, बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको रामधुनीमा पनि संञ्चालनमा छन् । नेपाल पंक्षी संरक्षणको पहल र स्थानीयको सक्रियतामा सञ्चालनमा रहेका जटायु रेस्टुरेन्ट विद्यार्थी र पर्यटककालागि अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा पनि विकास भएको छ ।

नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्टमा सिना खान भेला भएका सुन गिद्ध ।  
सबै तस्बिर : डिबी चौधरी