अष्ट्रेलियन फायर फाइटर विज्ञबाट बाम्दीमा आगलागी नियन्त्रण तालिम


     नेचर न्युज    
     मंसिर १० गते २०८३ मा प्रकाशित


वन डढेलो तथा अन्य आगलागीबाट हुने मानवीय, भौतिक र वातावरणीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२३, बाम्दीमा आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

अष्ट्रेलियाको अग्नि नियन्त्रण सेवामा २० वर्षभन्दा बढी अनुभव हासिल गरेका फायर फाइटर विज्ञ रोब मिकभी र वेन स्मिथले २२ वटा सामुदायिक वनका प्रतिनिधि, विभिन्न समितिका सदस्य तथा स्थानीयवासीलाई आगलागी नियन्त्रणसम्बन्धी तालिम दिएका हुन् । उनीहरू फायर एड यूकेका स्वयंसेवकसमेत हुन् ।

जौछहरे डाँडाखर्क बिरिम सामुदायिक वनका अध्यक्ष तथा ब्याक्टु नेचरका सञ्चालक डम्बर पुनको आयोजनामा भएको तालिममा आगलागीका कारण, आगो फैलिने प्रक्रिया, नियन्त्रणका विधि र त्यसका लागि आवश्यक प्राविधिक पक्षबारे जानकारी दिइएको थियो । तालिममा सामुदायिक वन महासंघ पोखरा–२३ तथा पञ्चासे वन संरक्षण क्षेत्रका प्रतिनिधिको पनि सहभागिता थियो ।

तालिममा आगो बल्न र निरन्तर जलिरहन आवश्यक पर्ने तीन आधारभूत तत्व इन्धन (फ्युल), ताप (हिट) र अक्सिजनबारे जानकारी दिइएको थियो । यी तीन तत्वमध्ये कुनै एउटाको उपलब्धता रोक्न वा त्यसको प्रभाव कम गर्न सके आगो नियन्त्रण गर्न सकिने वैज्ञानिक सिद्धान्तबारे सहभागीलाई प्रशिक्षित गरिएको थियो ।

आगो बल्न सक्ने वस्तु इन्धन हुन् । काठ, दाउरा, कागज, कपडा, पेट्रोल, डिजेल, प्लास्टिक तथा वनजङ्गलमा रहेका सुकेका पातपतिङ्गर र घाँस इन्धनका उदाहरण हुन् । त्यस्तै, इन्धनलाई बल्न आवश्यक तापक्रमसम्म पुर्‍याउने ऊर्जा ताप हो भने आगो बल्न हावामा रहेको अक्सिजन आवश्यक पर्छ । सामान्य वायुमण्डलमा करिब २१ प्रतिशत अक्सिजन हुन्छ ।

आगलागी नियन्त्रणका लागि तापक्रम घटाउने, अक्सिजनको सम्पर्क रोक्ने र आगो फैलिन सक्ने इन्धन हटाउने विधि प्रयोग गरिन्छ । वन डढेलो नियन्त्रणमा सुकेका पातपतिङ्गर तथा झारपात व्यवस्थापन गर्ने, फायर लाइन निर्माण गर्ने र सुरक्षित अवस्थामा पानी प्रयोग गरेर आगोको ताप घटाउने उपाय प्रभावकारी मानिन्छन् ।

तालिमले स्थानीयस्तरमै आगलागी नियन्त्रणको क्षमता विकास गर्न सहयोग पुग्ने पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङले बताए । आगो लाग्ने कारण र नियन्त्रणका वैज्ञानिक विधिबारे स्थानीय समुदायलाई जानकारी गराउनु तालिमको महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे ।

अष्ट्रेलियाका फायर फाइटर विज्ञ रोब मिकभीले नेपालमा आगलागी नियन्त्रणसम्बन्धी तालिम दिन पाउनु आफ्नो लागि नयाँ अनुभव भएको बताए । विद्यार्थी तथा सामुदायिक वनका सदस्यलाई आगलागी नियन्त्रणसम्बन्धी ज्ञान र सीप बाँड्न पाउँदा खुसी लागेको उनले उल्लेख गरे ।

आगलागी नियन्त्रणका क्षेत्रमा आफ्नो अनुभव र ज्ञानलाई थप समुदायसम्म पुर्‍याउने गरी भविष्यमा अझ उन्नतस्तरका तालिम सञ्चालन गर्ने अवसर मिल्ने विश्वास पनि उनले व्यक्त गरे । तालिमको अवसर जुटाइदिएकोमा आयोजक डम्बर पुनलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

अर्का फायर फाइटर विज्ञ वेन स्मिथले सामुदायिक वन र स्थानीय सरकारसँग सहकार्य गर्दै आफ्नो अनुभव स्थानीय समुदायसँग बाँड्न पाएकोमा खुसी व्यक्त गरे । स्थानीय समुदायको सहभागितामा आगलागी नियन्त्रणको क्षमता विकास गर्न सके वन डढेलो तथा अन्य आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।