हराउँदै असारे संस्कृति


     बिश्व सिग्देल    
     असार २१ गते २०७८ मा प्रकाशित


धान रोप्न असारको तयारी  बैसाख,  जेठ महिनाबाटै हुन्थ्यो । धनी मानिसका गोठमा १ जोडी हल गोरु हुन्थे l  एकमानोसम्म  खान पुग्ने घरमा पनि एउटा गोरु पालिन्थ्यो । छिमेकमा परेली लगाएर बाली लगाइन्थ्यो।

परेली लगाउँदा गोरुहरूको चालढाल, उचाइ, उमेर, फुर्तिलोपन तथा हिँडाइको ख्याल गरेर मिलाइन्थ्यो l  गोरुको मात्र परेली नभै बाउसे¸ रोपारहरूको समेत हलपछि हिँड्नु पर्ने हुँदा हित्तचित्त मिलेको ग्रह मिलेको हुन जरुरी थियो । ताकी सानो-तिनो भारापर्म लेनदेन उचनिचमा चित्त नफाटोस्।

बर्षदिन खेत पाखो गर्नुपर्ने र मंसिरमा एकमुष्ठ धान खलोमै दिने गरी हली लगाइन्थ्यो । हली कत्तीको मिलनसार,बिनयी, रिस नभएको गोरु चुट्ने/नचुट्ने¸ भर काट्ने/नकाट्ने,आउँछु भनेर आउने/नआउने कुरामा ख्याल गरिन्थ्यो ।

महिलाहरू धानको बिउको जोहो गर्ने, ब्याड मिलाउने, छर्ने गोड्ने काम गर्थे भने पुरुषहरू हलसँगै कोदालो लिएर खेतमा आली कान्लो मर्मत संभार गर्ने¸ कुलो सफा गर्ने गर्थे l  हली र गोरु बाँजो जोत्ने गर्थे ।

रोप्नु भन्दा पहिले नै सबै पूर्वाधार तयार गर्नु पर्थ्यो । गोरुलाई खेत पस्नु एक महिना अगावै घिउ/तोरीको तेल, अन्नपात खुवाएर पुष्ट पार्ने र तेजिलो पार्ने काम गरिन्थ्यो । मेलोमा कसका गोरु छिटा छरिता जितार हुन्छन उस्को मान मनितो सान बेग्लै हुन्थ्यो ।

खेतमा हली बाउसे रोपारहरूलाई मात्र हैन गोरुलाईसमेत खाजाको समेत व्यवस्था हुन्थ्यो । तिनका लागि मिठो र कलिलो घाँसको प्रबन्ध हुन्थ्यो। तर अरुको मेलोमा पर्म जाँदा गोरुको खाजा गोरु धनीले नै खेतमा पुर्याइदिनु पर्थ्यो ।

अर्मपर्म, परेली संस्कृति, रोपाइँमा खेतमै खाना पकाएर खाने चलन हराउँदै गएको छl

समग्रमा हिजो हामीले कृषिलाई अध्यात्मसँग जोड्थ्यौँ ,पश्चिमीहरूले अर्थतन्त्रसँग जोडे । अहिले हामी दुबैमा  असफल भयौं ,दुबैलाइ जोड्न सकेनौं।

रोपाईं हलीको नेतृत्वमा हुन्थ्यो । धेरै हलहरू मिलाएर एउटा समुह हुन्थ्यो । समुहलाइ गोल भनिन्थ्यो। गोलहरूबाट नाइके चुनिन्थ्यो। उसैले कुन दिन कसको रोपाइँ गर्ने र को-कस्को रोपाइँमा जाने तय गर्थ्यो। उसैको तयमा हलधनीहरू कोदाली¸ स्याखु बोकेर पछि-पछि लाग्थे । यसरी हिँड्दा माहोल निकै रमणीय हुन्थ्योl यसरी जमिनको आकारअनुसार एउटै खेतमा दसहल बाह्रहल सँगसँगै नारिन्थे । एकैदिन वा दुइदिनमा रोपाइँ सकिन्थ्यो।

पहाडमा भने साना-साना गह्रा हुने र खेत छरिएको हुने हुँदा एकैचोटी संभब हुँदैनथ्यो, त्यसैले  असारभरि आफ्नो मात्र हल, रोपार, बाउसे खट्नु पर्थ्यो । आफ्नो हलको पछाडि बाउसे, रोपार सबै एकै परिवारका हुन्थे । गरिब धनी सबै खेतमा कुम जोरेर काम गर्थे , धन सम्पती हैसियतको कुनै भेद थिएन ।

ज्यालामा काम कमै लगाइन्थ्यो । करिब-करिब भूमीहिन किसान हुँदै हुँदैनथे । कहिले काहीँ धेरै जमिन हुने किसानकोमा थोरै जमिन हुने किसानहरू उब्रेको समय सघाइ दिएवापत थोरै आर्जन गर्थे भने कसैले धेरै हुनेको जमिनको केही भाग अधियाँ कमाउँथे ।

खेतमा जोत्ने, खन्ने दिनदेखि मोहीझारोसम्म  सबै दिनहरू पात्रो हेरी तय गरिन्थ्यो । घरको पहिलो रोपाइँको दिन खेतमा सानो मण्डप बनाएर थानपति ,सिमेभूमेको बिधिपूर्वक पूजा र आहूती हुन्थ्यो । अन्नपूर्ण हिमालतिर फर्केर निर्बिघ्न अन्नबालीका लागि आराधना गरिन्थ्यो । पहिलो रोपाइँलाई टिके रोपाइँ भनिन्थ्यो । हली, बाउसे, रोपार र गोरु सबैलाइ सम्मान र प्रेमका साथ रातो टीका लगाइ दिएर सजाइन्थ्यो । त्यो दिनको खाजा पनि विशेष हुन्थ्यो।सेल¸ अचार थपि-थपी पाइन्थ्यो । असार पन्ध्र बिशेष उत्सवका साथ मनाइन्थ्यो ।

विशेष गरी अल्लि हुनेखाने हैकम हुनेकोमा यही पन्ध्र पारेर रोपाइँ गर्थे । सबै छरछिमेक पाहुनापाछा मिलेर हिलो खेल्थे । अत्यन्त सालिन मनोरञ्जक प्रेम र भातृत्वपूर्ण हिलो खेलाइ हुन्थ्यो ,पछारा-पछार हुन्थ्यो । हिजो-आज जस्तो अश्लिलता अभद्रता हुँदैनथ्यो ,न त मात्र औपचारिता नै हुन्थ्यो ।

औँसी¸ पुर्णिमा लगायत बिशेष तिथिहरूमा हलबार्ने चलन हुन्थ्यो। यसलाई बिश्रामको दिनजस्तै मानिन्थ्यो । हिजोको कृषि आध्यात्मिक¸ सांस्कृतिक कर्म थियो, कर्तव्य थियो। कृषिकर्म पुण्यसँग ,धार्मिक कृत्यसँग जोडिएको थियो ।

यादब राजकूमार बलरामको हतियार समेत हलो थियो । कृष्णले भगवानको पूजा हैन पशुधनको पूजा¸ अन्नदाता गोबर्धन पर्वतको पूजा¸ प्रकृतीको पूजा सिकाउनु भयो । राजा जनक स्वयं हिलोमा प्रबेश गरेर हल चलाउनु हुन्थ्यो । कपिलवस्तुमा राजा सुद्धोधन महारानीहरूसहित रोपाइँमा संग्लग्न हुनुहुन्थ्यो ।

नेपालमै राजारानी असार पन्ध्रमा हिलोखेल्न खेतमा पुग्थे । अहिले असारको रूप फेरिएको छ ,सार पनि फेरिएको छ । सबै ठाउँमा सानाठूला ट्राक्टर पुगेका छन, गोरु पाल्नै छाडे । मुजुरी भर्ने गरी हली राख्न कोही तयार पनि नहुने भए ।

कृषिको जमिन पनि प्लटिङ गरेर बेचिन थाले । जमिन कम हुन थालेपछी पुरानो प्रथा काम नगर्ने भयो । समग्रमा हिजो हामीले कृषिलाई अध्यात्मसँग जोड्थ्यौँ ,पश्चिमीहरूले अर्थतन्त्रसँग जोडे । अहिले हामी दुबैमा  असफल भयौं ,दुबैलाइ जोड्न सकेनौं । जोड्न सकेको भए अध्यात्मको आनन्द र समृद्धिको सुखको फ्यूजन कति सुन्दर हुने थियो l

(बिश्व सिग्देल राजनैतिक विश्लेषक तथा सामाजिक अभियन्ता हुन्)