
शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै जग्गा कटान तीव्र बनाएको हो । स्थानीय किसानले लगाएका उखु र धानबालीमा नदीले क्षति पुर्याउन थालेको स्थानीयवासी मङ्गलप्रसाद चौधरीले बताउनुभयो।
‘दुई दिनको अवधिमै नदीले जग्गा कटान गरी एक बिघाभन्दा बढी जग्गामा लगाएको धान र उखु बाली बगाएर लगेको छ’, उहाँले भन्नुभयो, ‘जग्गा कटान रोक्नका लागि पहल नगरिए बस्ती नै जोखिमा पर्ने देखिएको छ ।‘ उहाँका अनुसार नदीले चुन्नु चौधरीको पाँच, रामदास रानाको पाँच, फिर्ता रानाको पाँच, पदम रानाको तीन र जन्न्नु रानाको तीन गरी २१ कठ्ठा जग्गा बगाएर बगरमा परिणत गरेको छ । दोदा र वनहरा नदीको दोभान रहेको क्षेत्रमा नदीले बढी क्षति पुर्याएको छ।
विगतमा नेपाल रेडक्रसको सहयोगमा इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिले साझेदारी गरी जैविक तटबन्ध निर्माण गरेको थियो । नदीको धार परिवर्तन भई जैविक तटबन्ध निर्माण गरेको क्षेत्रमै बग्न थालेपछि जग्गा कटान अधिक हुन थालेको छ।
‘विपद् व्यवस्थापन समितिमा आबद्ध समुदायका व्यक्तिहरुले संरक्षण गरेको बगर बनेको छ’ स्थानीयवासी रामदास रानाले भन्नुभयो, ‘बगर नदीले कटान गरी बगाएपछि स्थानीय बासिन्दाले उखु र धानखेती गरेको उब्जाउ जग्गासमेत बगाउन थालेको छ।‘
नदीले उब्जाउ जग्गा कटान गर्न थालेपछि निकै चिन्तित भएको उहाँले बताउनुभयो। नदीमा भरपर्दो तटबन्धको तत्काल व्यवस्था नभए बस्ती नै बग्ने खतरा बढेको छ। बस्तीका ३५ परिवार नदीको उच्च जोखिममा छन् । तटबन्ध निर्माणका लागि जल उत्पन्न तथा सिँचाइ डिभिजन कार्यालयमार्फत पटक–पटक अनुरोध गरे पनि लकडाउनको कारण देखाउँदै तटबन्ध निर्माण अगाडि नबढाइएको स्थानीय बासिन्दाको गुनासो छ ।
‘बर्सात हुने दिन अझै बाँकी नै छन्’ स्थानीयवासी बालसुग्रिब रानाले भन्नुभयो, ‘खेती गरेको जग्गा नदीले कटान गरी बगाउन थालेपछि भोकमरीको समस्या खेप्नुपर्ने बाध्यता छ नै, नदी नियन्त्रणका लागि पहल नभए बस्ती नै विस्थापनमा पर्ने भएको छ । परिवार लगेर कुन ठाउँमा गएर बस्ने अर्को पिरलो छ।‘
विसं २०६४ मा नदीको बाढीले यस क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापनमा परेका थिए। नदी नियन्त्रणका लागि स्थानीय बासिन्दाले रेडक्रससँग मिलेर जैविक तटबन्ध निर्माण गरी बगर संरक्षणमा जोड दिएका थिए। नदीको जोखिम रहेका क्षेत्रमा बाँसको तटबन्ध निर्माण गरी बगरमा घाँस रोपेर जग्गा कटानी हुने कार्य रोकेका थिए । हाल त्यही क्षेत्रमा नदी बहाव बढ्दा कटान हुन थालेको छ । स्थानीय बासिन्दाले तारजाली र ढुङ्गाको स्थायी प्रकृतिको तटबन्ध निर्माण गरी बस्ती जोगाउन सम्बन्धित निकायसँग माग गरेका छन्।रासस



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…