निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : नहर व्यवस्थापनमा समस्या


     नेचर न्युज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित


निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नहर व्यवस्थापनमा समस्या देखिएकाे छ । नहर व्यवस्थित नहुँदा वर्षा याममा स्थानीयकाे घर डुब्ने, बाटाे बन्द हुने समस्या हुँदै आएको छ । यसैले स्थानीय तनावमा छन् । पानी व्यवस्थापन गर्न पटक पटक बनाइएकाे नहर नै बिरामी भएपछी विमानस्थलकाे पूर्वतर्फ वर्षाको पानीले पहिरो गएको छ । सिंचाईका लागि विमानस्थलभित्र हुँदै ल्याइएको सेती नहरमा वर्षाको भलपानी मिसिँदा पानी थेगीनसक्ने अवस्था आउनाले विमानस्थल नजिकैको विजयपुर खोला किनारको भिर क्षेत्रमा पहिरो गएको हो । 

विमानस्थल निर्माण हुनु अघिसम्म विमानस्थलको जमिनको बिच भाग भएर पोखरा १४ को छिनेडाँडालगायतको क्षेत्रमा सिंचाइ हुँदै  आएको थियो । विमानस्थल निर्माणपछि नहरलाई पूर्वतर्फ मोडेर विमानस्थल भित्रैबाट किसानलाई सिंचाइको सुविधा दिन नहर बनाइएको छ । यसरी बनाइएको नहरको उचित व्यवस्थापन नहुँदा  विमानस्थलको पूर्वतर्फ विजयपुर खोलाको किनारमा पटक–पटक पहिरो गइरहेको पोखरा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्कीले बताए । नहर बनाउँदा विमानस्थल निर्माण अयोजनालाई पक्की बनाउन भनिरहे पनि पोहोरदेखि नै नहर  पटक–पटक भत्कँदा विमानस्थल नजिकैको भिरमा पटक–पटक पहिरो गएको उनले बताए ।

विजयपुर खोलाको भिर विमानस्थलदेखि ५० देखि ६० मिटरभित्रै पर्ने अध्यक्ष कार्कीले सुनाए । विमानस्थललाई नै असर गर्ने गरी पहिरो गइरहेकोले विमानस्थल प्रशासनलाई नहर व्यवस्थित गर्न अनुरोध गर्दा पनि व्यवस्थित हुन नसकेको अध्यक्षले बताए । ठूलो वर्षा हुँदा नहरको पानी बस्तीमा पसेर घर र कुखुरा फर्म नै डुबानमा पर्ने गरेको पनि वडा अध्यक्ष कार्कीले सुनाए । यस वर्ष तीन किसानको कुखुरा फर्ममै पानी पसेर ४ सय बढी कुखुरा मरेको उनले बताए । 

सेती नहरबाट पोखरा १४ का ५ हजार रोपनी बढी क्षेत्रमा सिंचाइ हुँदै आएको अध्यक्ष कार्कीले जानकारी दिए । यहाँको मझेरी पाटन, सेतीदोभान, सैनिक तहरा, शिव मार्गलगायत क्षेत्रमा सिंचाइ हुँदै आएको छ । वर्षा याममा सितलादेवी¸अमरसिंहदेखि काहुँखोलाको पानीसमेत नहरमा मिसिँदा यस क्षेत्र डुबानमा पर्ने गरेको उनले बताए ।

देशमै सबैभन्दा धेरै पानी पर्ने सहर पोखरा यसमा पनि विमानस्थल क्षेत्रमा धेरै क्षेत्रबाट सोहोरिएर आउने पानी नहरमा मिसिँदा व्यवस्थापनमा समस्या भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । विमानस्थल निर्माण आयोजनाले आयोजनाको समस्याहरूमा विमानस्थल क्षेत्र भन्दा बाहिर वर्षातको समयमा बग्ने  भित्री सडकको पानी, पृथ्वी राजमार्गको नाला र सिंचाइ नहरबाट बगेर आउने पानीको कारण विमानस्थल पूर्वीभागमा बाढी पहिरोको समस्या उत्पन्न भएको बताउँदै आएको छ । नहर व्यवस्थापनलाई आयोजनाले समस्याको रूपमा लिए पनि नहर पटक–पटक कमजोर बनाउँदा यो समस्या आएको स्थानीय हेमन्त ढकालले बताए । 

विमानस्थ हाताभित्र बनाइएकाे याे नहर पटक पटक फुटेपछि विजयपुर खाेलामा मिसिने क्रममा विमानस्थलकाे पूर्व तर्फ भिरमा पहिराे जाने गरेकाे छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । कोरोना सङ्क्रमणको कारण निर्माण सामग्री ल्याउन, चिनियाँ प्राविधिक आउन ढिलाईलगायतका कारण एकवर्ष समय थप गरेर १० जुलाई २०२२ सम्म सम्पन्न गर्ने समय दिइएको छ । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन् २०२१ को जुलाई १० मा निर्माण सक्नु पर्ने सम्झौता थियो ।

समय सीमा थपिए पनि २०७८ भित्रै सबै काम सकिएर टेस्ट फ्लाइट हुने गरी काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख मुनंकर्मी बताउँछन् । विमानस्थल निर्माणको ८१ प्रतिशत काम सकिसकेको छ ।