
जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् ।
रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार संस्था रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
जलवायु विश्व सम्मेलनमा छलफल हुने विषयवस्तुहरुमा जलवायु परिवर्तन र कोभिड पनि रहेको बताइएको छ । कोभिड महामारी सुरु भएयता विश्व नेताहरुले भौतिक उपस्थिति जनाइको यो नै पहिलो कार्यक्रम हो । १९ वटा राष्ट्र र युरोपेली सङ्घ सदस्य रहेको जी ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भिडियो लिङ्क मार्फत सहमागीता जनाएका छन् ।